एपिएफले अंक बाँड्यो

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारको दोस्रो खेलमा नेपाल एपिएफ महेन्द्रा फुटबल टिम र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीचको खेल १–१ को बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले लिएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो ।

२० औँ मिनेटमा श्याम नेपालीको क्रसमा आशिष लामाको हेडरलाई बिबिसीका गोलरक्षक जीवन भट्टराईले नियन्त्रणमा लिए । ४४औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । आशिषले नवीन लामाको पासमा गरेको हेडिङलाई बिबिसीका गोलरक्षक जीवनले रोक्ने कुनै मौका नै पाएनन् । जारी लिगमा उनी नवौँ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । ५१ औँ मिनेटमा आशिषको प्रहार दोस्रो बारबाट थोरै बाहिरिँदा एपिएफ अग्रता लिनबाट चुक्यो ।

५८ औँ मिनेटमा ईसाक ओलाकाजीको पासमा शिशिर लेखीको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले पञ्च गर्दै बचाए । रिवाउन्डमा पदम भट्टराईको हेडिङ पोस्टबाट थोरै बाहिरिँदा बिबिसी बराबरीबाट चुक्यो । ८० औँ मिनेटमा प्रविन स्याङ्तानको पासमा आशिषको क्लोज रेन्जबाट गरेको प्रहार बारमा लागेर फर्कदा एपिएफ अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बिबिसीका कप्तान अनिल गुरुङले गोलरक्षकलाई बिट गर्दै गरेको प्रहारलाई एपिएफका डिफेन्डर विरेन्द्र प्रकाश यादवले गोललाईनबाट बचाउँदै सम्भावित बराबरी टारे । थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट विजय गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यो खेलसँगै ब्रिगेड १३ खेलमा ९ अंकसहित १२ औँ स्थानमा छ । एपिएफ १३ खेलमा समान ९ अंकका साथ १३ औँ स्थानमा रहेको छ । त्रिभुवन आर्मी क्लब १२ खेलमा २९ अंकसहित शीर्ष स्थानमा छ ।

पुलिसको सहज जित

कप्तान जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिसले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार फ्रेन्ड्स क्लबलाई ३–० को गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा जुमानुले ह्याट्रिक गर्दै पुलिसलाई सहज जित दिलाएका हुन् । उनले ४८ औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

५६औँ मिनेटमा दोस्रो तथा ८५औँ मिनेटमा गोल गर्दै जुमानुले ह्याट्रिक पूरा गरे । जारी लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि रुस्लान थ्री स्टार क्लबका सन्जोक राईले सरस्वतीविरुद्वको खेलमा ह्याट्रिक पूरा गरेका थिए । यो जितसँगै पुलिस १३ खेलमा ६ मा जित सहित २० अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी क्लब १२ खेलमा २९ अंकसहित शीर्ष स्थानमा छ । सानमिगेल मच्छिन्द्र क्लब १२ खेलमा २८ अंकसहित दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब १२ खेलमा २५ अंकसहित तेस्रो र रुस्लान थ्रि स्टार १२ खेलमा २३ अंकका साथ चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया