चिनीमाया र सुस्मितालाई उपाधि

काठमाडौं । ‘मिसेस एड मिस गुरुङ–२०२०’ को उपाधि मिसेसतर्फ चिनीमाया गुरुङ र मिसतर्फ सुस्मिता गुरुङले चुमेका छन् । मिसेस गुरुङतर्फ फस्ट रनरअप र मस्टपपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लिलादेवी गुरुङ, थर्ड रनरअप प्रेमकुमारी गुरुङ, अर्गनाइजर च्वाइस बिमाया गुरुङ र होममाया गुरुङ, भ्युअर्स च्वाइस मनमाया गुरुङ र फेसबुक चवाइस रोशनी गुरुङले जित्न सफल भएका छन् ।

त्यसैगरी मिस गुरुङतर्फ फस्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिशा गुरुङ, मस्टपपुलर धनमाया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भ्युअर्स च्वाइस सुस्मिता गुरुङले हात पार्न सफल भएका छन् । बिजेताले नगद पुरस्कारसहित ट्रफी, क्राउन लगायत अन्य उपहार पाउन सफल भए ।

प्रतियोगीलाई उपाधि प्रदान गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कला र संस्कृतिको जर्गेना गर्न सबै नागरिकसँगै राज्य लाग्नुपर्नेमा जोड दिए । विगत दुई वर्षदेखि एस.के.इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, केशव थापा, पाल्साङ तामाङ, सुमना गुरुङ र कृष्ण गुरुङ रहेका थिए ।

गुरुङ समुदायको कला, संस्कृति, भेषभूषा, रितिरिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यावसायिक महिलालाई अगाडि बढ्न प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजकले जनाएको छ । गुरुङ संस्कृति र सभ्यताको अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण प्रतियोगिताको मुख्य लक्ष्य रहेको आयोजक संस्थाकी अध्यक्ष शान्त तामाङले बताइन् ।

प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यले एक महिनासम्म प्रशिक्षण दिएका थिए । प्रतिस्पर्धीलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक संस्थाकी अध्यक्ष तामाङले जानकारी दिइन् ।

प्रतिक्रिया