‘जनयुद्ध’को धङधङी

एमाले र माओवादी पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) विधिवतरूपमा गठन भएको दुई वर्ष पुग्नै लागेको छ । केन्द्रदेखि तृणमूलसम्मका सबै संगठनहरू एक भइसकेका छन् । बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीमार्फत नै समाजवादको गन्तव्यमा पुग्न सकिने ठहरका साथ एकीकृत पार्टी अघि बढिसकेको छ । विचार र सिद्धान्तमा खासै मतभिन्नता देखिएको छैन, तर इतिहासका कुनै कालखण्डमा भएका घटनाका विषयमा निर्धारण गरिने दृष्टिकोणमा भने अझै पनि समस्या रहेको देखिएको छ । जसमध्ये एउटा उदाहरण हो– ‘माओवादीले २०५२ साल फागुन १ गतेदेखि सुरु गरेको दश वर्षे सशस्त्र विद्रोह ।’ यो विद्रोहलाई माओवादीले गौरवका साथ ‘जनयुद्ध’ भन्ने गरेको छ । माओवादी पंक्तिका नेता तथा कार्यकर्ताहरूले यस दिनलाई गौरवशाली दिवसका रूपमा मनाउँदै आएका छन् । गणतन्त्र तथा संविधान दिवसलाई भन्दा पनि जनयुद्ध दिवसलाई महत्व दिनुपर्ने धारणा उनीहरूको छ । उता एमाले पंक्तिका कयौं नेता तथा कार्यकर्ताका लागि भने यो दिन नेपालको इतिहासकै सबैभन्दा कालो क्षण हो । उनीहरू यो दिनलाई सम्झनसमेत चाह“दैनन् । पार्टी एकीकरण भएको पहिलो वर्ष अर्थात् गत वर्षको फागुन १ गते ‘जनयुद्ध’ दिवसको सन्दर्भलाई लिएर केही मतान्तर भएको थियो । यो दिवस कुनै हातमा पनि हर्षोल्लासका साथ मनाउनुपर्ने माओवादी पंक्तिको अडान थियो भने सकेसम्म अब बिर्सनुपर्ने एमाले पंक्तिको अडान थियो । यिनै अडानका बीच मध्यमार्गी बाटो अपनाइयो । ‘जनआन्दोलन तथा जनयुद्ध दिवसका सहिदहरूप्रति श्रद्धान्जली’ लेखिएको व्यानर बनाएर कार्यक्रम गर्ने सहमति भयो । दुवै अध्यक्ष सहभागी हुने भन्दै कार्यक्रमको प्रचार गरियो, तर प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । यस वर्ष पनि त्यही स्थिति देखियो । प्रधानमन्त्री ओलीसमेत सहभागी हुने भन्दै प्रचार गरियो, तर ओलीको सहभागीता रहेन ।

‘जनयुद्ध’लाई विर्सन माओवादी पंक्तिलाई जति असजिलो छ, एमाले पंक्तिलाई पनि ‘जनयुद्ध’लाई उपलब्धि मान्न त्यति नै असजिलो छ । दश वर्षको यो सशस्त्र द्वन्द्वका क्रममा माओवादीका १० हजारभन्दा बढी नेता तथा कार्यकर्ताले ज्यानको बलिदानी दिएका छन् । हजारौं अंगभंग भएका छन् । सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने प्रेरणाले यति ठूलो जिवनको आहुती हुनु सामान्य कुरा होइन । यता एमाले पंक्तिका कतिपय नेता तथा कार्यकर्ताका लागि यो कहालीलाग्दो घटना हो । एमालेप्रति आस्था राखेकै कारण माओवादीको हातबाट मारिनेहरूको संख्या पा“च सयको हाराहारीमा रहेको तथ्यांक छ । रोल्पाको हारजाङमा एउटा घरमा मिटिङ गरिरहेकै वेला माओवादीले आगो लगाएर एमालेका आठजनाको निहत्था कार्यकर्ताको एउटै चिहान बनाइदिएका थिए । २०५६ सालको आमनिर्वाचनमा रोल्पाबाट एमालेको उमेदवार बनेका यदु गौतम माओवादीबाट काटिएका थिए । ०५६ सालमा माओवादीले दाङको सैनिक ब्यारेक आक्रमण गरेपछि सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा भाग लिन जाँदै गरेका तत्कलीन एमालेका नेता तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पत्रकारले प्रश्न गरेका थिए–‘ सरकारले सेना परिचालन गर्ने प्रस्ताव राख्यो भने तपाइँहरू के गर्नुहुन्छ ?’ ओलीको प्रतिप्रश्न थियो–‘ गए राती देखि नै माओवादी आँफैले सेना परिचालन गराइदिइसक्यो, यति पनि तपाइँहरूलाई थाहा छैन ?’ माओवादीप्रति नेपाली कांग्रेसका नेताहरूभन्दा तत्कालीन एमालेका नेता ओली अझ बढी कठोर थिए ।

‘जनयुद्ध’को विषयमा एमाले पंक्ति र माओवादी पंक्तिबीच एउटै मत हुन अझै केही वर्ष सम्भव छैन । यो मामिलामा माओवादी पंक्ति जबसम्म लचिलो हु“दैन तबसम्म एउटै दृष्टिकोण बन्ने सम्भावना छैन । ‘जनयुद्ध’को स्वामित्व लिन पूर्वएमाले तयार हुने संभावना देखिन्न । ‘जनयुद्ध’ बिसर्जन गरेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र शान्तिपूर्ण राजनीति गरिरहेको एमालेबीच एकता भएको हो । ‘जनयुद्ध’ शब्द आफै“ विवादास्पद छ । संविधानको प्रस्तावनामै यो शब्द राख्ने नराख्ने भनेर धेरै बहस भयो । अन्तिममा ‘जनयुद्ध’ नराखेर सशस्त्र द्वन्द्व राखिएको छ । ‘जनयुद्ध’को बाटो गलत हो भन्ने विषयमा सिंगो नेकपा एकमत नहुने हो भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनुको कुनै तुक छैन ।

प्रतिक्रिया