रोल्पा होलेरी आक्रमणबाट सुरू भएको त्यो द्वन्द्व

‘देशको परिर्वतनका लागि रोल्पाबाटै युद्वको सुरूवात भए, थुप्रै यहाँका जनताहरू मारिए, बेपत्ता भए । तर जनताका समस्या यथावत छन् । पुर्वधार विकास छैन । जनता अझै पनि पानी पिउन पाउ भन्दै विभिन्न ठाउमा धाउनु परेको छ । खै त परिर्वतन ? के यसैका लागि हामीले युद्व गरेका हौँ र ?’ उनले प्रश्न गरे 

जनयुद्वको १० बर्ष राज्यको गुजा¥यो । १७ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाए । कयाँै अंगभंग भए । राज्यका अर्बौ संरचना ध्वस्त भए । तत्कालीन द्वन्द्व पक्ष र सरकार पक्ष बीच वार्ताबाट देशमा विस्तृत शान्ति सम्झौता भयो । त्यसपछि देशमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापित भयो । द्वन्द्वमा होमिएका तत्कालीन माओवादीहरू टुक्रा टुक्रा भए ।

०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेसँगै नेपालमा द्वन्द्व सुरु भयो । आक्रमणमा दुवै जना तर्फ कुनै पनि मानविय क्षति नभए पनि तत्कालीन माओवादीले प्रहरी चौकी बाट हतियार मात्र लुट्यो । रोल्पा, रूकुम, सल्यानजस्ता ठाउँहरूबाट द्वन्द्वमा धेरैले ज्यान गुमाए । कैयौँ बेपत्ता पनि भए ।

रोल्पाको रून्टीगढि गाउँपालिकामा रहेको होलेरीबाट द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षबाट ३० जनाले ज्यान गुमाएको तथ्याकं गाउपालिका संग छ । होलेरी चौकी नै निशाना बनाइनुको कारण दाङबाट रोल्पा जाने बाटो पछिसम्मका लागि खोल्ने तथा दाङजस्तो सहरी क्षेत्रमा पनि प्रभाव पार्ने सक्ने आंकलनले माओवादीले एक महिना अगाडिबाट नै तयारी सुरु गरेर चौकी आक्रमण गरेको थियो ।

होलेरीमा पहिलोपटक आक्रमण हुदा नन्दबहादुर पनु पासान, ओनसरी घर्ति, प्रदेश नं. ५ का आन्तारिक मामिलामन्त्री कुलप्रसाद के.सी लगाएतले नेतृृत्व गरे । होलेरीमा दोस्रोपटक पनि आक्रमण भयो । ०५८ असार २८ गते होलेरीमा पुन प्रहरी चौकी आक्रमण भयो । विहान ४ बजेदेखि भएको आक्रमणमा ७२ जना प्रहरीलाई माओवादीले नीयन्त्रणमा लिएको थियो भने प्रहरी हल्वदार राज बहादुर गिरीको मृत्यु भएको थियो । त्यहाँबाट थुप्रै हतियारहरू माओवादीले लुटेका थिए ।

०४८ सालदेखि भएका निर्वाचनमा यो क्षेत्रले पुष्पकमल दाहाल प्रचण्डदेखि कृष्णबहादुर महरा, वर्षमान पुन, सुरेन्द्र हमाल, लेखनाथ आचार्य, ओनसरी घर्ती, जयपुरी घर्ती, कुलप्रसाद केसी, दीपेन्द्र पुन, सन्तोष बुढामगर लगायतलाई निर्वाचित गरेर पठायो । निर्वाचित भएर जानेहरू राज्य सञ्चालनको महत्वपूर्ण स्थानमा पुगे पनि होलेरी राज्य सञ्चालकको सधै उपेक्षामा परिरह्यो । अहिले पनि यो क्षेत्रमा खानेपानीको चरम समस्या छ, सडक, शिक्षा, स्वास्थ्यमा पनि अरू क्षेत्रको तुलनामा निकै पछाडि छ । तर, अहिले स्थानीयले यही द्वन्द्वको घाउ र कथालाई पर्यटन विकासको माध्यम बनाउन थालेका छन् ।

होलेरीमा भएको त्यो दोस्रो आक्रमण
०५२ साल फागुन १ गते होलेरी आक्रमण बाट नेपालमा द्वन्द्व सुरू भयो । होलेरीमा पहिलोपटक आक्रमण गर्दा तत्कालीन माओवादीले हतियार मात्र लुटेर लगेको थियो । तर, होलेरीमा दोस्रोपटक आक्रमण हुँदा एक प्रहरीको ज्यान गयो । दोस्रो होलेरी आक्रमणका कमाण्डरहरू थिए नन्दकिशोर पुन र वर्षमान पुन ।

दाङको सशस्त्र तालिम केन्द्र भालुवाङ आक्रमण गर्ने सुरुमा योजना बनाए पनि अन्तिम समयमा आक्रमणको योजना चुहिएपछि माओवादीले यसलाई परिवर्तन गरेको तत्कालीन माओवादीहरू बताउँछन् । अन्तिम अवस्थामा योजना सार्वजनिक भएपछि तनावमा रहेका माओवादी सेनाका कमाण्डरहरूले आक्रमणलाई आधार क्षेत्रमा लैजाने निर्णय गरेका थिए ।

पुन द्वयले योजनालाई रोल्पा केन्द्रित गरे । दुवै जना रोल्पाकै बासिन्दा भएकाले भूगोलले योजना बनाउन उनीहरूलाई सहज भएका कारण रोल्पाको होलेरी आक्रमण गर्न सफल भएका थिए । होलेरीमा पनि आक्रमणको सुइँको पाएपछि प्रहरी राति गाउँमा बसे पनि बिहानपख प्रहरी चौकीमा फर्कने गरेको सुँइको पाएपछि आक्रमण बिहानमा गर्ने योजना बनाएको तत्कालीन कमाण्डर नन्दकिशोर पुनले आफ्नो पुस्तक इतिहासका रक्तिम पाइलामा उल्लेख गरेका छन् ।

‘वैरीहरू राति पूरै अल आउट हुने भएकोले भेट्टाउन सम्भव थिएन । त्यसकारण बिहान भित्रिने वेलामा चारैतिरबाट घेराउ गरी आक्रमण गर्नुपर्ने स्थिति बन्यो’, पुनले उल्लेख गरेका छन् । बिहानमा लडाइँ सुरु गर्ने योजना बनाएपछि माओवादीले वरपर हेलिकप्टर ल्यान्ड हुन सक्ने स्थानमा समेत नीयन्त्रण गरेको थियो ।

बिहानपख क्याम्पमा प्रहरीहरू आए पछि माओवादीले माइकिङ गरेर प्रहरीलाई आत्मसमर्पण गर्न भने पनि प्रहरीले पहिलो फायर खोलेको पुनले पुस्तकमा उल्लेख गरेका छन् ।

स्थानीय तहको केही प्रयास
रून्टिगढि गाउपालिका पर्ने होलेरीमा स्थानीय तहले केही प्रयास भने गरेको छ । द्वन्द्वको समयमा पहिलो आक्रमण भएको होलेरी बजारबाट पूर्वतर्फ चौकी रहेको स्थानमा स्मारक बनाउने काम गरेको छ । स्मारकलाई अझै व्यवस्थित गर्दै इतिहास देखाउने याजना अनुसार होलेसीमा काम भइरहेको रून्टिगढि गाउँपालिका होलेरी रोल्पाका अध्यक्ष बालाराम बुढाले जानाकारी दिए ।

उनले होलेरीलाई पर्यटकिय विकास गर्नका लागि स्वर्गद्वारिका महाप्रभु जन्मिएको र तपस्या गरेको स्थल रून्टी र शिव पार्वती गुफा रहेका क्षेत्रमा धार्मिक पर्यटनको विकासका लागि योजनाहरू बनाइएको बताए । त्यसबाहेक रून्टिगढि मध्यकालीन नेपालको राज्य विस्तारका वेलाको पुरानो गढिलाई विकास गर्न लागिएको बताए ।

गाउँपालिका उपाध्यक्ष छमायां पुनले रून्टीगढीलाई हरेक हिसाबले पर्यटकीयस्थल बनाउने सँगै महिलाहरूको आयआर्जन वृद्धिका लागि पनि गाउँपालिका अग्रसर भइरहेको बताइन् ।

युद्व हुँदा भनिएको परिर्वतन भएन
नेपालमा युद्वको सुरुवात भएको रोल्पाको होलेरीका स्थानीयवासीहरू भने युद्वपछि परिर्वतनको अनुभूति नभएको बताउँछन् । देशमा युगान्तकारी परिर्वतनका लागि घर र परिवार त्यागेर जनयुद्वमा लागे पनि विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र स्थापित हुदा सम्म स्थानीय जनताले प्रत्यक्ष रूपमा परिर्वतनको अनुभूति प्राप्त नभएको होलेरीका स्थानीय केशव घर्तीले बताए ।

‘देशको परिर्वतनका लागि रोल्पाबाटै युद्वको सुरूवात भए, थुप्रै यहाँका जनताहरू मारिए, बेपत्ता भए । तर, जनताका समस्या यथावत छन् । पूर्वाधारको विकास छैन । जनता अझै पनि पानी पिउन पाऊँ भन्दै विभिन्न ठाउमा धाउनुपरेको छ । खै त परिर्वतन ? के यसैका लागि हामीले युद्व गरेका हौँ र ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया