जावलाखेल र हिमालयन शेर्पा बराबरीमा रोकिए

काठमाडौं । प्रभु बैंक जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार बराबरी खेलेका छन् । दुवै टोलीले १० खेलाडीमा सीमित रहँदै अन्त्य गरेको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

शेर्पाका लागि स्टेफन समिन डेबेनीले २ र विजय श्रेष्ठले एक गोल गरे । जावलाखेलका लागि कुवेर विष्ट, फोडे फोफाना र रूपबहादुर लामाले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १२ औँ चरणको अन्तिम खेलमा हिमालन शेर्पाले पहिलो हाफमा लिएको ३–१ को अग्रतालाई जोगाउन नसक्दा अंक बाँढ्नु परेको थियो ।

स्टेफनले पाँचौँ मिनेटमा जावलाखेलका लागि गोल गरेका थिए । २६ औँ मिनेटमा विजयले गोल गर्दै शेर्पाको अन्तरलाई दोब्बर पारे । स्टेफनकै पासमा विजयले गोल गरेका थिए । २–० ले शेर्पा अघि लागेको अवस्थामा जालाखेल १० खेलाडीमा सीमित भएको थियो ।

गोलकिपर अरुण ब्लोनले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । पेनाल्टी बक्सभन्दा बाहिर निस्केर बल ह्यान्ड गरेपछि उनलाई रातो कार्ड दिइएको थियो । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जावलाखेलले गोल फर्काएको थियो ।

कुवेरले फोडेको पासमा गोल गर्दै अन्तर घटाएका थिए । तर, त्यसको दुई मिनेटपछि स्टेफनले अर्को गोल गर्दै पुन शेर्पाको अन्तरलाई बढाए । ६० औँ मिनेटमा फोडेले हेडमार्फत गोल गर्दै पुनः टोली खेलमा फर्काउने प्रयास गरे । ६८ औँ मिनेटमा शेर्पा पनि १० खेलाडीमा सीमित भएको थियो ।

निरज बस्नेत दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । लगत्तै रूपबहादुरले फ्रिकिकमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा पु¥याएका थिए । बराबरीपछि १९ अंकका साथ जावलाखेल पाँचौँ स्थानमा छ । ११ औँ स्थानमा रहेको शेर्पाको ११ अंक पुगेको छ ।

प्रतिक्रिया