दुई स्रष्टा पुरस्कृत

पाँचथर । साहित्यका क्षेत्रमा योगदान दिएको भन्दै दुई युवा स्रष्टालाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

समथिङ फाउन्डेसनले ‘समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार’ बाट राज माङलाकलाई ५५ हजार पाँच सय ८० नगदसहित पुरस्कृत गरेको हो । फिदिममा बुधबार आयोजित कार्यक्रममा पाँचथरको मिक्लाजुङ १ का माङलाकलाई नगद तथा जिन्सी सामानसहित पुरस्कृत गरिएको हो ।

उनलाई घरायसी प्रयोजनका लागि आवश्यक थाल, बटुका, प्लेट, जग, चिया खाने मख, चम्ची, करुवा लोटासहितका १५ थान सामग्री प्रदान गरियो । पुरस्कारसँगै जिन्सी सामानसहित सम्मान गरिएको यो पहिलो पटक हो । माङलाक २०५० देखि लेखनयात्रामा छन् ।

उनका अहिलेसम्म धुँवाका धुनहरू, पाँचथरका स्रष्टा र सिर्जना, येम्रे कुनाराहा, लिम्बुनी गाउँलगायतका पुस्तक प्रकाशन भइसकेका छन् । उनले आँखी झ्याल, चक्रव्युह, सुम्हात्लुङलगायतका पत्रिकाको सम्पादनसमेत गरेका छन । त्यस्तै, साहित्यकार विद्या ओझा निर्दोषीलाई ‘समथिङ साहित्यिक राष्ट्रिय सम्मान’ प्रदान गरियो ।

२०६३ सालपछि साहित्य प्रकाशनको कार्य थालनी गरेकी हिलिहाङ–५ की ओझाका कहालीलाग्दो वर्तमान, पाँचथरका नारी हस्ताक्षर, उनको सम्झनामा, जवानी खोसेको वात्सल्य र सम्झनाको कलमलगायतका कृति प्रकाशित छन् । उनले कविता, कथा, गजल र संस्मरण लेखनलगायतका विधामा कलम चलाउँदै आएकी छन् ।

‘पुरस्कार प्रतिस्पर्धाको आधारमा हैन, योगदानको आधारमा’ भन्ने नारासहित स्थापना गरिएको पुरस्कार कोषबाट प्राप्त ब्याजले हरेक दुई वर्षमा फाउन्डेसनले सम्मान र पुरस्कृत गर्दै आएको छ । त्यसका लागि फाउन्डेसनले ३ लाख ५० हजारको अक्षयकोषसमेत स्थापना गरेको छ ।

सम्मान र पुरस्कारका लागि पाँचथर गजल मञ्च, नौलो साहित्यिक बिहानलगायतका संस्थासँगको सहकार्यमा छनोट समितिले पुरस्कृत र सम्मानित स्रष्टा छानेको फाउन्डेसनले जनाएको छ । सोही अवसरमा लेखक गुरुङ राम प्रकाश समथिङको ‘कथा जिन्दगी’ का नामक पुस्तक विमोचन गरियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपानेले उक्त पुस्तकको लोकार्पण गरे । कार्यक्रममा प्रा.डा. न्यौपानेले साहित्यको क्षेत्रमा पाँचथर उर्वर रहेको बताए । उनले कला र साहित्यमार्फत समाज रूपान्तरणमा योगदान दिन सकिने बताउँदै स्रष्टाको क्षमतालाई पहिचान गर्नसक्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया