थर्ड ह्यान्ड स्मोकिङले निकोटिन र विषाक्त पदार्थ ओसार्छ

                     हरि लम्साल

धुम्रपानले सेवनकर्तालाई मात्रै असर गर्दैन, नजिकै बस्ने अन्य व्यक्तिलाई ‘निष्क्रिय धुम्रपान’ अर्थात् ‘सेकेन्ड ह्यान्ड स्मोक’ को माध्यमले हानी पुर्याइरहेको हुन्छ । धुम्रपानले प्रत्यक्ष सेवनकर्ता र नजिकै बसेका व्यक्तिलाई मात्रै नभई अन्य व्यक्तिलाई समेत ‘थर्ड ह्यान्ड स्मोक’ का रूपमा जोखिम हुने एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार धुम्रपानको धुवाँमा करिब ७ हजारभन्दा बढी रसायन हुन्छन् । जसमध्ये न्यूनतम २ सय ५० हानिकारक छन् भने ६९ वटा क्यान्सर उत्पन्न गराउने खालका छन् ।

सूर्तीजन्य पदार्थको धुवाँले फर्निचर, घर, कार्पेट, छत, पर्खाल, टायल, खेलौना, लुगाफाटालगायत जुनसुकै सतहमा टाँस्सिने निकोटिनलगायत अन्य रसायन र विषाक्त पदार्थको सम्पर्कमा आउनुलाई थर्ड ह्यान्ड स्मोकिङ भनिन्छ । थर्ड ह्यान्ड स्मोक धुम्रपानको अवशेष हो । अझ यो प्रक्रियालाई राम्ररी केलाउने हो भने थर्ड ह्यान्ड स्मोकिङ ‘निकोटिन’ को त्यस्तो अवशेष हो, जो विभिन्न सतहमा टाँस्सिएर रहन्छ । यो प्रदूषण धुलोको माध्यमले पुनः हावामा फैलिएपछि व्यक्तिले आफ्नो श्वास–प्रश्वासको माध्यमबाट फोक्सोभित्र तान्छ र यसले मानिसलाई असर गर्छ । धुम्रपान गर्ने व्यक्तिको घरलाई सफा गर्दासमेत त्यहाँ भएको धेरैजसो थर्ड ह्यान्ड स्मोक बसिरहेको हुन्छ । यसको अवशेष वर्षौंसम्म रहन सक्छ ।

अमेरिकन लर्ड एसोसिएसनका अनुसार थर्ड ह्यान्ड स्मोकको माध्यमले विभिन्न सतह र धुलोमा टाँस्सिएका रशायन ग्याँसको अवस्थामा पुनः निस्किन सक्छन् । पुनः निस्किएपछि यसले वातावरणमा भएको अन्य रसायनसँग प्रतिक्रिया गरेर नयाँ रसायन बनाउन सक्छ । सूर्ती बल्दा यसबाट बाफको रूपमा निस्किने निकोटिनलगायतका अन्य रशायन, विषाक्त पदार्थ घरको पर्खाल, कार्पेट, फर्निचर, लुगाफाटालगायतका विभिन्न तहमा टाँसिन्छ । विभिन्न चिजमा टाँस्सिएको धुम्रपानको धुवाँ रशायनिक प्रतिक्रिया भई समयसँगै झन् बढी खतरनाक हुन्छ । यसले क्यान्सरलगायत विभिन्न रोग उत्पन्न गर्न सक्छ । कोठाको झ्याल–ढोका खोलेर, पंखा वा एयर कन्डिसनरलगायतका वस्तु चलाएर, घरको सीमित ठाउँमा मात्र चुरोट तानेर पनि थर्ड ह्यान्ड स्मोकबाट मुक्ति पाइँदैन । खुला झ्यालको अगाडि उभिएर धुम्रपान गर्नुले पनि यसको असरबाट बच्न सकिन्नँ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा।नवीनप्रकाश शाहले भने– ‘यो थर्ड ह्यान्ड स्मोकले विभिन्न जटिल स्वास्थ्य समस्यासँगै क्यान्सरसमेत उत्पन्न गर्नसक्छ । हाल सेकेन्ड ह्यान्ड स्मोकको दुष्प्रभावबारे मुलुकमा केही चेतना देखिए पनि सर्वसाधारणलाई थर्ड ह्यान्ड स्मोकको खतराबारे थाहा नै छैन भने पनि हुन्छ । सेकेन्ड ह्यान्ड स्मोकिङ कुनै व्यक्तिले चुरोट खाइरहँदासम्म मात्र हुने भए पनि थर्ड ह्यान्ड स्मोकिङको प्रक्रिया भने महिनौं वा वर्षौंसमम जारी रहन सक्छ । धुम्रपानका अम्मलीहरूका कारण धेरै मानिसमा क्यान्सरलगायतका विभिन्न स्वास्थ्य जटिलताको रूपमा नखाएको विष लाग्दै छ ।

यसैले धुम्रपान गर्दाताका सँगै बस्नुमात्रै खतरनाक नभई उनीहरूले चुरोट खाने स्थानमा रहँदासमेत जोखिम हुने कुरा बिर्सनु हुन्न । थर्ड ह्यान्ड स्मोकले फष्ट ह्यान्ड स्मोकजस्तै ज्यान लिन्छ । थर्ड ह्यान्ड स्मोकको नकारात्मक प्रभाव शरीरको विकास भइरहेका बालबालिका र युवामा बढी पर्ने गरेको छ । यसले फोक्सोको क्यान्सर हुने बढी जोखिम भए पनि यसले पिसाबको थैलो, पाठेघरको मुख, मृगौला, मुख, प्यांक्रियाज (पचाउने थैली), घाँटीलगायतका अन्य अंगको क्यान्सरसमेत हुने जोखिम हुन्छ । थर्ड ह्यान्ड स्मोकले धेरै रोग एवं संक्रमण गराउन सक्छ । यसको धेरै असर फोक्सो र कलेजोमा पर्छ ।’

विशेषज्ञका अनुसार थर्ड ह्यान्ड स्मोकिङले होटल, कारलगायतका बाहन वा लामो समयसम्म धुम्रपान गर्ने व्यक्तिलाई बढी प्रभावित पार्ने र बामे सर्ने बच्चा, शिशु र बालबालिकालाई अन्य व्यक्तिको दाँजोमा बढी प्रभावित पार्छ । सधंँ हरेक चिज–वस्तुलाई छोइराख्ने र मुखमा हालिराख्ने भएकाले उनीहरूले अन्य व्यक्तिको दाँजोमा यस्ता हानिकारक पदार्थ बढी मात्रामा निल्ने गर्छन् । थर्ड ह्यान्ड स्मोकद्वारा उत्सर्जित रसायनलगायतका विषाक्त पदार्थ गर्भवतीको सम्पर्कमा आउँदा रगत प्रवाहको माध्यमले भ्रुणमा समेत असर पुग्न सक्छ । स्वस्थ सन्तान जन्माउन गर्भावस्थामा सक्रियमात्र नभई निष्क्रिय धुम्रपानको कुनै पनि जोखिमबाट बच्नुपर्दछ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सूर्तीजन्य पदार्थ सेवनकर्तामध्ये आधाको मृत्युको कारक हो । वर्षेनी करिब ८० लाखभन्दा बढी व्यक्तिको मृत्यु धुम्रपानबाट हुने गरेको छ । जसमध्ये ७० लाखभन्दा बढी मृत्यु प्रत्यक्ष धुम्रपानले हुन्छ भने धुम्रपान नगर्ने करिब १२ लाखजति मृत्यु निष्क्रिय धुम्रपानको सम्पर्कमा आएर हुन्छ । अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्टे«सनका अनुसार सेकेन्ड र थर्ड ह्यान्ड स्मोकले मानिसमात्र नभई कुकुर–बिरालोलगायत घरपालुवा जनावरसमेत बिरामी पर्न सक्छन् । कार्पेट, फर्स, सतह आदिमा टाँस्सिएर बसेको धुम्रपानको अवशेषमा घरपालुवा जनावरले बढी समय व्यतित गर्ने, जीऊ दल्ने, चाट्ने आदि गर्ने हुनाले बढी प्रभावित हुने गरेका छन् । एफडिएका अनुसार सूर्तीजन्य पदार्थको धुवाँले घरपालुवा चराहरू, गिनी पिग (मुसा) मात्र नभई एक्वारियममा पालिएका माछालाई समेत खतरामा पार्न सक्छ ।

प्रतिक्रिया