६ महिनामा २० हजार चालक कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जना कारबाहीमा परेका छन् । जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढोका खुला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लायतका सवारीचालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी साउन यता २० हजार ४ सय ३३ जना सवारी चालकहरूलाई कारबाही गरेको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढोका खुला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्नेलाई कारबाही गरिएको छ । पुस १ गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतनालगायतका विषयमा शिक्षा दिएको समेत बताए ।

उनले ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ४५ हजार १४७ जना पैदलयात्री, १ हजार ६४८ जना मोटरसाइकल चालक, ६१२ जाना निजी सवारी चालक, ११ हजार ८०३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १०४ जना विद्यार्थी र ५७ सरकारी सवारीचालकलाई सचेतना गराइएको बताए । यसबाहेक ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन गरिएको, यात्रुमैत्री अभियान सुरु गरिएको, ट्राफिक जाम कम गर्न विभिन्न प्रयास गरिएको तथा सडक पूर्वाधार सुधारका लागि तयार पारिएको ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनाको कार्यान्वयनमा जोड दिइएको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिइएको र ९ वर्षदेखि बिग्रिएर रहेका १७ स्थानका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याइएको ढकालले बताए । साउन यता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको जानकारी दिए । महाशाखाले आइतबार पनि चोरी भएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया