सरकारी जग्गा श्रीमतीदेखि भतिजा बुहारीसम्मको नाममा

काठमाडौं । ललिता निवासको सरकारी जग्गा मालपोत कार्यालयका तत्कालीन अधिकारीले आफन्तको नाममा बकसपत्रमार्फत पास गरेको खुलेको छ । सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएवापत पाएको सो जग्गा उनीहरूले पनि आफन्तकै नाममा पास गरेको भेटिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको लामो अनुसन्धानपछि भेटिएको कागजपत्र अनुसार भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक, मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत, प्रमुख मालपोत अधिकृत र खरिदारले आफन्तकै नाममा बकसपत्रमार्फत पास गराई दिएका हुन् । उनीहरूले श्रीमति, छोरीज्वाई, सालीको छोरा, साढुभाई, भतिजा बुहारीको नाममा पास गरेको भेटिएको हो । अख्तियारका अनुसार सरकारी जग्गा पास गराउन भूमाफियाहरूले सरकारी अधिकारीलाई केही जग्गा सो ठाउमा उपलब्ध गराईदिएका थिए । सार्वजनिक जग्गा किर्ते गर्ने कार्यमा सहयोग गरेवापत प्राप्त भएको जग्गालाई उनीहरूले लुकाउने प्रयोजनका लागि आफन्तको नाममा जग्गा पास गरिदिएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ ।

अख्तियारका अनुसार विभागका महानिर्देशक मुकुन्द प्रसाद आचार्यले आफ्नै छोरीज्वाईलाई जग्गा पास गरिदिएका हुन् । आचार्यले सो जग्गा आफ्नै कार्यकक्षमा लिखत तयार पार्दै पास गराईदिएको खुलेको छ । आचार्यका ज्वाईं बैकुण्ठ शर्मा रेग्मीले अख्तियारलाई दिएको बयानअनुसार उनले विभागमै बोलाएर आफूलाई सही छाप गराएको र उक्त कागजातका बारेमा प्रश्न गर्दा ससुराको विश्वास छैन भनेर हप्काएको दाबी गरेका छन् । तर, हाल आचार्यको निधन भईसकेको अख्तियारले जानकारी दिएको छ । अख्तियारले दायर गरेको अभियोगमा उनको मृत्यु भईसकेकाले सजाय नहुने भएकाले ७५ लाख १० हजार विगो दाबी गरेको छ ।

विभागमात्र होइन्, मालपोत कार्यालयका उपल्लोस्तरका अधिकारीले पनि बालुवाटारमा जग्गा पाएको अख्तियारको अनुसन्धानले खुलेको छ । कार्यालयका तत्कालिन अधिकृत कलाधर देउजाले सो जग्गा आफ्ना साढुभाई इन्द्रबहादुर क्षेत्रीको नाममा पास गरिदिएका छन् । क्षेत्रीले भने सो जग्गा देउजाले आफ्नो नाममा पास गरिदिएको र दुई वर्षपछि आपूmले १० लाख रुपैयाँमा बिक्री गरेको बयान दिएका छन् । अख्तियारको बयानमा उनले भनेका छन्,‘राणा परिवारलाई आफुले नचिनेको तर साढुदाई देउजाले बालुवाटारमा एउटा जग्गा छ तपाइँको नाम राखिदिउँ भन्दै पास गरिदिनु भएको हो ।’ अख्तियारले देउजामाथि २ करोड, २६ लाख ८५ हजार ५ सय बिगोसहित कैदको माग गरेर आरोपत्र दायर गरेको छ ।

मालपोत अधिकृत सुरेन्द्रमान कपालीले भने आफ्नै भतिजा बुहारीको नाममा जग्गा पास गरिदिएको खुलेको छ । उनीहरूले सिधै आफ्नो नाममा जग्गा राख्दा पछि अनुसन्धानबाट देखिने हुँदा आफन्तको प्रयोग गरेको हुन सक्ने आशंका अख्तियारले गरेको छ । कपालीले शान्ति मल्ल प्रधानको नाममा बकस गरिदिएको भेटिएको हो । मल्लले अख्तियारमा दिएको बयानअनुसार नाताले काका ससुरा पर्ने कपालीले बालुवाटारको जग्गा ८१ हजार मूल्य राख्दै उनको नाममा बकस गरिदिएका थिए । उक्त जग्गा उनले पाँच वर्षपछि ८ लाख रुपैयाँमा बिक्री गरिदिएको बयान अख्तियारमा दिएकी छन् । अख्तियारले कपालीलाई मालपोत प्रमुखको हैसियतले सरकारी जग्गा गैह्रकानुनी रूपमा व्यक्ति विशेषलाई फिर्ता दिनका लागि प्रमुख भूमिका खेलेको भन्दै २ करोड, २६ लाख ८५ हजार ५ सय बिगोसहित कैदको माग गरेर आरोपत्र दायर गरेको छ ।

अख्तियारको बयानमा मालपोतका तत्कालिन खरिदार युक्तप्रसाद श्रेष्ठले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको देखिएको छ । श्रेष्ठकी श्रीमतीले पनि मालपोत कार्यालयमा कार्यरत रहेका श्रीमानको पहुँचका आधारमा बालुवाटारको जग्गा प्राप्त गरेको बयान अख्तियारलाई दिएकी छन् । उनी डिल्लीबजार मालपोतमा कार्यरत रहेको समयमा २०४९ सालमा ८५ हजार मोठ राखेर बकसपत्र गरिएको थियो । श्रेष्ठकी श्रीमती सरस्वतीकुमार श्रेष्ठले दिएको वयानमा जग्गा कारोबारी मिठुराम चापागाईंबाट बकसपत्रमार्फत प्राप्त भएको खुलाएकी छिन् ।

खरिदार श्रेष्ठले श्रीमतीमात्र नभई बहिनी निर्मलादेवी श्रेष्ठलाई पनि बकसमा जग्गा पास गराएको खुलेको छ । अख्तियारको बयानमा निर्मलादेवीले दाजु डिल्लीबजार मालपोत कार्यालयमा खरिदार रहँदा आफ्नो नाममा एउटा जग्गा पास गर्न बोलाएको र पछि उनैले ऋण लाग्यो वेच्न पर्यो भनेपछि आफूले पास गरिदिएको बयान दिएकी छन् । श्रेष्ठमाथि अख्तियारले २ करोड २९ लाख ५७ हजार ४ सय रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले यी सबै जग्गा सरकारी भएकाले फिर्ता ल्याउन सरकारलाई सुझाव दिईसकेको छ ।

बैंकको ऋण गुम्ने डर

ललिता निवासको सरकारी जग्गामा बैंक तथा वित्तीय संस्थाले धितो राखेर ऋण लिएको देखिएको छ । अख्तियार स्रोतले दिएको जानकारी अनुसार त्यहा जग्गा हुने २१ जनाले १५ वटा बैंकबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ भन्दा बढीको धितो ऋण लिएका हुन् । उनीहरूलाई पनि आवश्यक कारवाही गर्न भनेर अख्तियारले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ ।

राष्ट्र बैंकले ललिता निवासको सरकारी जग्गा धितो राखेर ऋण दिएका बैंकहरूलाई अनुसन्धान भने सुरु गरिसकेको छ । यदी सो ऋण रकम चुक्ता भइसकेको भए थप कारवाही केहीपनि हुँदैन । राष्ट्र बैंकले बैंकहरूलाई यसरी धितो राखेका ऋणीलाई अर्को जग्गा धितो राख्नको लागि भन्नेछन् । त्यो नभएमा सो बराबरको ऋण एनपीएलमा गणना हुन्छ । बैंकहरूले सो बराबरको रकम नोक्सानी व्यवस्थाको लागि प्रोभिजन गर्नुपर्ने हुन्छ ।

ललिता निवासको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी इन्दु शर्माले ऋण लिएकी छन् । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण लिएको भेटिएको छ । सो ऋण भने चुक्ता भएको छैन । यस्तै पुरुषोतम पौडेलले पनि सबैभन्दा बढी रकम ऋण लिएका छन् । उनले ४९ करोड रुपैयाँ नेपाल इन्भेस्टमेन्ट बैंकबाट ऋण लिएका छन् ।

प्रतिक्रिया