नीरफूलको ‘बदनामी तिमी’ सार्वजनिक

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र ‘नीरफूल’ को नयाँ गीत ‘तिमी बद्नामी…’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको गीतको भिडियोमा कुनै एक डान्सबारमा अभिनेत्री थापाले गीत गाएको दृश्य प्रस्तुत गरिएको छ ।

अभिनेत्रीसँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी छन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवनयापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको घटनालाई उधिनिएको छ ।

सार्वजनिक यस गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । गायिका दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक फूलमान वल आफैँले लेखेका हुन् । आगामी ३० फागुनमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले भूकम्पपछिको सामाजिक अवस्थालाई केलाएको छ । यो गीतले चलचित्रको एउटा पाटोलाई बोकेको देखिन्छ । आइटम गीतभन्दा चलचित्रका पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक वलले जानकारी गराएका छन् ।

चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रूपमा पनि छन् । चलचित्रको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले बताए । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

निर्माताको रूपमा बेलायतबाट दीपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

प्रतिक्रिया