शर्मिलाको ‘हावा चल्यो’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका शर्मिला तामाङको ‘हावा चल्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त गीतको भिडियो विमोचन गरिएको हो । गायिका शर्मिलाकै शब्द तथा संगीत रहेको उक्त गीतमा गायक पासाङ लामाले गायिका शर्मिलालाई आवाजमा साथ दिएका छन् ।

त्यस्तै, सुजु श्रेष्ठ र सुरज घिसिङको अभिनय रहेको गीतको भिडियो निर्देशन शिव विकले गरेका छन् । गाउँघर मेलापातको सम्झना दिलाउने गीत ‘हावा चल्यो’ले स्थानीय सांस्कृतिक तथा प्राकृतिक स्थानलाई वर्णन गरेको गायिका शर्मिलाले जिकिर गरिन् । उनले गीतले गाउँले मायालाई कलात्मक रूपमा प्रस्तुत गर्न खोजेको सुनाइन् । उनले भनिन्, ‘साँच्चिकै माया गर्ने जोडीले एक अर्कालाई दुःख सुखमा सहयोग गर्ने तथा जीवनभर साथ दिन्छन् भन्ने सन्देश दिन खोजेको छ ।’

गीतले दर्शक स्रोताको मन जित्ने विश्वास आफूले लिएको गायिका शर्मिलाले जिकिर गरिन् । विमोचन समारोहमा समाजसेवी पदमबहादुर लामाले गीतको शब्दले मौलिक परिवेशलाई अँगालेको र भिडियोले पनि मौलिकतालाई कदर गरेको प्रतिक्रिया दिए । उनले गीतले ग्रामीण परिवेशलाई चित्रण गरेको बताए ।

प्रतिक्रिया