इमान्दारीपूर्वक जिम्मेवारी बहनले उपलब्धि हासिलः महानिरीक्षक खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आन्तरिक शुद्धीकरणको कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताएका छन् ।प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम भवन आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले कानून कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी प्रहरी कर्मचारीले निष्ठापूर्वक र इमान्दारिताका साथ जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिल भएको प्रतिक्रिया दिए ।

आफ्नो कार्यकालमा सङ्गठनको सुधार एवं आन्तरिक सुदृढीकरणको लागि सदैव क्रियाशील रहेको जिकिर गर्दै उनले प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च बनाउन आफ्नो प्रयासमा कमी नगरेको बताए । उनले आजै महानगरीय प्रहरी पहरा गण सामाखुशी परिसरमा नवनिर्मित ब्यारेक भवनको समेत उद्घाटन गरेका थिए ।

प्रहरी महानिरीक्षक खनालले आफ्नो ३० वर्षे सेवा अवधिमा प्रहरी कै शिर उँचो पार्ने प्रयास गरिएको बताए । प्रहरी महानिरीक्षक खनाल ३० वर्षे सेवा अवधिका कारण आज अनिवार्य अवकास लिँदै छन् । उनले सेवा पश्चात पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गरे । उनले नागरिक समाजमा रहेरसमेत सङ्गठनको श्रीवृद्धिमा लाग्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया