न्यु डाइमण्डमाथि एपिएफको जित

काठमाडौं । साविक विजेता तथा विभागीय टोली नेपाल एपिएफ क्लबले राजधानीमा जारी १५ औँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले अपराजित यात्रा कायम राखेको हो ।

मुख्य स्पाइकर प्रतिभा माली बिना कोर्ट उत्रिएको न्यु डायमण्डविरुद्ध एपिएफले सुरुवाती सेट गुमाएपिन पुनरागमन जित निकालेको हो । घुँडाको चोटको कारण टिम बाहिर रहेका प्रतिभा बिना न्यु डायमण्डले पहिलो सेट २५–२१ ले जितेको थियो । तर, त्यसपछिको सेट २५–८, २५–१४ र २५–१६ ले जित्दै खेल एपिएफले आफ्नो बनायो ।

न्यु डायमण्डमाथिको जितसँगै शीर्ष स्थानको एपिएफले १२ खेलबाट ३५ अंक जोडेको छ । न्यु डायमण्ड १३ खेलमा २२ अंक जोडेर चौथो स्थानमा रहेको छ । सोमबार भएको पहिलो खेलमा न्यु डायमण्डले बुलबुले रारा क्लबलाई २५–२२, २५–१२, १८ –२५ र २५–१६ को सेटमा हराएको थियो । बुलबुले १३ खेलमा १४ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ ।

यस्तै पुलिसले चितवन टाइग्रेसलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले चितवनमाथि २५–२३, २५–२१,१७–२७ र २५–२० को सेटमा पराजित गर्यो । जितसँगै पुलिसले १२ खेलमा ३४ अंक जोडेको छ । र, पुलिस दोस्रो स्थानमा रहेको छ । पुलिस एपिएफ भन्दा एक अंकले मात्र पछि रहेको छ । चितवन भने पाँचौं हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । चितवनले १४ खेलमा १८ अंक जोड्यो । पाँचौं भएको चितवनले ५५ हजार प्राप्त गर्यो ।

यस्तै, लिगमा आर्मी क्लब ११ खेलमा २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै एपिवजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुनेले जनही ७-७ हजार पाउने छन् ।

प्रतिक्रिया