सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतना अभियान

वीरगञ्ज । पछिल्लो समय प्रदेश–२ मा पनि सवारी दुर्घटना हुने क्रम बढिरहेकोले यो प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश–२ का ट्राफिक एसपी श्याम महतो रातदिन खटिरहेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न एसपी महतोले प्रदेश–२ मा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतना अभियान सञ्चालन गर्दै आइरहेका छन् ।

मानवीय क्षति र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रदेश–२ ट्राफिक प्रदेशप्रमुख भई भर्खरै आएका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यो प्रदेशको आठ वटै जिल्लाको विभिन्न ठाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यस कार्यक्रमअन्तर्गत प्रदेश–२ को बारा, पर्सा, सप्तरीलगायत विभिन्न ठाउँमा सवारीचालक, ट्राफिक प्रहरी, सञ्चारकर्मी तथा स्थानीयको उपस्थितिमा चेतनामुलक कार्यक्रम गर्दै सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अभियानमा ट्राफिक एसपी महतो लागिपरेका छन् ।

उनी आएदेखि नै दुर्घटना र ट्राफिक नियम उल्लंघन हुने ठाउँमा सर्वसाधारणलाई दुर्घटनासम्बन्धी सडक कक्षा सञ्चालन गर्दै जनचेतना फैलाउँदै आइरहेका छन् । सवारी दुर्घटना तथा मानवीय क्षतिको वर्तमान अवस्था, सवारी दुर्घटनाको प्रकृति तथा कारणहरूको बारेमा प्रदेश–२ का विद्यालय तथा आमजनताको माझमा गई सडक दुर्घटनाबाट बच्ने बारे जनचेतना फैलाउँदै आएका छन् ।

उनले चालक, व्यवसायी, आम सडक प्रयोगकर्तालाई स्वयं सचेत रही ट्राफिक नियमको पूर्णपालना गरी कानुन कार्यान्वयन एवं दुर्घटना न्यूनीकरणमा सबै पक्षले साथ र सहयोग गरे दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताउँदै दुर्घटना न्यूनीकरण गर्ने अभियानमा लागेका हुन् । यस कार्यक्रमअन्तर्गत एसपी महतो विद्यालयका छात्रछात्रालाई ट्राफिक नियम र दुर्घटनाबारे चेतना दिँदै विभिन्न ठाउँमा सरसफाई गर्दै दुर्घटना न्यूनीकरण अभियानलाई सार्थक बनाउनमा जुटेका छन् ।

यसै कार्यक्रमअन्तर्गत एसपी महतोकै उपस्थितिमा आइतबार सप्तरीको खडक नगरपालिका कल्याणपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरीक्षक उत्तम कार्की, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडवरी, स्थानीय जनप्रतिनिधिलगायत विभिन्न मिडियाका सञ्चारकर्मी, यातायात व्यवसायी, चालक, सहचालकसमेत गरी १ सय १५ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने सप्तरीकै राजबिराज नगरपालिका–३ मा जिल्ला समन्वय समितिको सभा हलमा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जित नारायण लाल दाससहित १ सय ५२ जनाको उपस्थितमा ट्राफिक चेतनामुलक कार्यक्रम सम्पन्न भयो ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, संचारकर्मी र स्थानीय नागरिकको उपस्थितिमा प्रहरी कल्याण कोष पेट्रोल पम्पदेखि पथलैया चोक हुँदै राजस्व अनुसन्धान विभाग अगाडिसम्मको सडक तथा सडकको दायाँबायाँ रहेको फोहोर सरसफाइ गरी जनचेतना फैलाउने काम गरिएको छ ।

प्रतिक्रिया