ल्यान्डफिल्ड समयमै नबन्दा स्थानीय मर्कामा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्रबाट निस्केको फोहरलाई प्रशोधन गरी मल उत्पादन गर्ने उद्देश्यसहित वडा–१६ नगवास्थित निर्माण कार्य सुरु गरिएको ल्यान्डफिल साइडको म्याद सकिएता पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । आयोजना र ठेकेदार कम्पनीको चरम लापरवाहीले ल्यान्डफिल साइडको कार्य सम्पन्न हुन नसकेको हो । ल्यान्डफिल्ड साइडको आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार आयोजनाको कार्य प्रगति अन्तिम चरणमा पुगेको बताए । उनले भ्वाइस ट्रक नहुँदा समस्या भए पनि अब केही दिनमा भ्वाइस ट्रक ल्याउने बताए ।

सन् २०१६ अप्रिल १ मा शिलान्यास गरिएको उक्त ल्यान्डफिल्डको निर्माण अवधि २०१८ मार्च ३० सम्म थियो । पछि कामकोे मूल्यांकन गरी २०१८ जुलाई १५ सम्म म्याद थप गरिएको थियो । यस म्यादमा पनि काम सम्पन्न नभएपछि पुनः २०१८ डिसेम्बर १५ सम्म म्याद थपियो । दोस्रोपटक म्याद थप्दा पनि उक्त साइडको निर्माण कार्य पूरा भएन । यसरी दुईपटकसम्म म्याद थप्दा पनि ल्यान्डफिल्डको कार्य समयमै सम्पन्न नहुनु दुर्भाग्यको कुरा रहेको स्थानीय श्यामशंकर चौरसियाले बताए ।

नगरको विभिन्न स्थानमा थुप्रिरहेका फोहरले नगरवासी लामखुट्टेको समस्यादेखि दुर्गन्धको समस्या खेप्न बाध्य छन् । महानगरले दिनहुँ नगरको फोहर संकलन गरे पनि संकलित फोहरलाई व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या निम्तिएको हो । संकलित फोहर सिर्सिया नदी तथा शंकराचार्य गेटदेखि पश्चिमतर्फ थुपारिएको छ । यसरी फोहोर थुपारिएका कारण छेउछाउका स्थानीयवासी मर्कामा परेका छन् । महानगर तथा ठेकेदारको लापरवाहीले यस्तो समस्या आएको स्थानीय कृष्णप्रसाद कुश्वाहाले बताए ।

वीरगञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष श्यामबाबु चौरसियाका अनुसार ल्यान्डफिल्ड साइड निर्माण हुन नसक्दा नेपाल–भारत सीमामा रहेको नदीनालालगायत विभिन्न ठाउँमा फोहर राख्ने काम भएको स्वीकारेका छन् । वीरगञ्ज महानगरपालिकाको फोहर व्यवस्थापन हुन नसक्दा स्थानीयको जनजीवन कष्टकर हुँदै गए पनि यो हाम्रो वाध्यता भएको छ । फोहरको कारण महामारी हुने सम्भावना बढेको वडाध्यक्ष चौरसियाले स्वीकारे । ल्यान्डफिल्ड निर्माण गर्नका निम्ति बनाइएका सडकसमेत भत्किँदै गएको छ । सडक भत्किए पनि साइडको निर्माण हुन नसक्नु, ठेकेदार र आयोजना प्रमुखको चरम लापरवाही रहेको प्रष्ट हुन्छ ।

आयोजनाको दिर्नेशनमा ठेकेदारले निर्माण गरेको सडकमा समेत भ्रष्टाचार भएको यही दृष्यबाट प्रमाणित हुन्छ । एसियाली विकास बैंकको ऋण सहयोगमा ९एडिबी० योजनाअन्तर्गत निर्माण भइरहेको ल्यान्डफिल्डको चाइनिज ठेकेदार कम्पनी जोन्डिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनीले ४७ करोड ९१ लाखमा ठेक्का सकारेको थियो तर ल्यान्डफिल्ड साइडमा केही काम बढाएपछि रकमलाई पुनः बढाई ५४ करोड ७४ लाख रकम ठेक्का पुर्याइएको छ । कागजातको आधारमा चाइनिज कम्पनीले उक्त साइडको ठेक्का लिएता पनि निर्माण कार्य भने पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमति रौनियारले गरिरहेका छन् ।

जसरी दुई वर्ष साढे तीन महिनाको योजनासहित निर्माण कार्य सुरु गरिएको थियो, त्यही गतिमा निर्माण कार्यले निरन्तरता पाएको भए त्यो प्रोजेक्ट बढीमा डेढ वर्षसम्ममा तयारी भइसक्नुपर्ने हो । तर, निर्माण गरिरहेको पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारको बुबा हरिनारायण रौनियार राजनीति क्षेत्रमा होमिएसँगै उक्त साइडको निर्माण कार्य रोकिएको थियो । रौनियार संघीय समाजवादी फोरम नेपाल पार्टीबाट पर्सा–३ बाट संसद् सदस्य छन् । निर्वाचनमा प्रचारप्रसारमा लागेकाले ल्यान्डफिल्ड साइडको निर्माण कार्य झन्डै एक वर्ष नै रोकिएको थियो । म्यादमै निर्माण सम्पन्न हुन नसक्दा निर्माण कम्पनीमाथि दबाब परेपछि निर्माण कार्यमा तदारुकता देखिएको छ ।

निर्माण कार्यले जतिसुकै तीव्रता लिए पनि कम्तिमा २०२० को जुलाईसम्म समय लाग्नेछ । सयमयै कार्य सम्पन्न नभएपछि ठेकेदार कम्पनीले निर्माण कार्यको म्याद थप गराउन कसरत गरिरहेको छ । वीरगञ्ज महानगरपालिका एडिबी परियोजना प्रमुख शैलेन्द्र श्रेष्ठले ठेकेदार कम्पनीमाथिको गल्तीलाई सफाइ दिँदै काम भइरहेको बताए । यसैगरी परामर्शदाता कम्पनी स्मेक इन एसोसिएसन बिडिए, सिमार्ट ज्वाइन्ट भेन्चरका टिम लिडर नागेन्द्र झाले ल्यान्डफिल्डमा प्रयोग गरिने प्लास्टिकको लेयर ९जिओमेमरेन० आयात गर्नमा ढिलाई भएको कारण कामले तीव्रता लिन नसकेको बताए ।ठेकेदार र आयोजनाकै ढिलाइले कार्य प्रगतिमा आउन नसकेको स्थानीयले बताएका छन् ।

नेतागण तथा नेतागणका आफन्त ठेकेदार पेसामा आवद्ध भएकाले विकासको कार्यमा ढिलाइ भएको स्थानीयले आरोप लगाएका छन् । त्यसमा अधिकृतहरू पनि कमिसनको चलखेलमा लागेकोले काममा प्रगति हुन नसकेको स्थानियको आरोप छ । फोहर व्यवस्थापन हुन नसक्दा जनजीवन कष्टकर हुनको साथै महामारी फैलन सक्ने सम्भावना रहेकोले सम्बन्धित निकायले छिटोभन्दा छिटो काम सक्नुपर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया