वुहानका नेपालीलाई शनिबार उद्धार गरिने

काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई शनिबार नेपाल ल्याउने भएको छ । काठमाडौंमा आवश्यक तयारी पूरा गर्न बुधबारसम्मको समय लाग्ने र त्यसपछि उद्धार गरेर ल्याउन लागिएको हो ।  हुवेइको वुहानमा रहेका नेपालीमध्ये १ सय ८० जनाले उद्धारका लागि निवेदन दिएकाले उनिहरुलाई शनिबार रातिसम्म नेपाल ल्याइने भएको छ ।

त्यसका लागि सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म उद्धार गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् । निगमका पदाधिकारीसँग आइतबार भएको छलफलमा पनि मन्त्रालयले वाइडबडी जहाज चीन पठाउनुपर्ने बताएको थियो ।

चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘हामी ९निगम० आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइडबडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ’, उनले भनिन् । निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ ।

वाइडबडी जहाज पठाउँदा करिब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ । नेपालबाट चिनका सबै गन्तव्यमा उडान भर्ने अधिकाशं एयरलाइन्सले उडान स्थगित गरिसकेकाले निगमको जहाज पठाउन लागिएको हो ।
चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १ सय ८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ९०० भन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीब २४० व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सक्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया