समको निवासलाई संग्रहालय बनाइने

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर ९कविकुञ्ज० लाई सरकारले संग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि संग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८ औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक कार्यक्रममा वक्ताहरूले यस्तो चर्चा गरेका हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ज्ञानेश्वस्थित समको निवासलाई प्रज्ञा–प्रतिष्ठानले संग्रहालय बनाउन चाहेको बताए । उनले भने, ‘समका परिवारजनले अनुमति दिएमा प्रज्ञा–प्रतिष्ठान समको घरलाई संग्रहालय बनाउन तयार छ । यस विषयमा तत्कालै सरकारसँग प्रस्ताव राख्छौँ र समका परिवारजनसँग छलफल चलाउँछौँ ।’

उनले प्रज्ञा–प्रतिष्ठानमा नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मूर्धन्य स्रष्टाहरूको सामूहिक संग्रहालय बनाउने प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा। जगत्प्रसाद उपाध्यायले राणा कुलमा जन्मिएर पनि समले साहित्य सिर्जना, नाटकमा अभिनय र चित्रकलामार्फत् समानता र न्यायको पक्षमा सशक्त आवाज बुलन्द गरेको बताए । उनले भने, ‘नाटक र छन्द कवितामार्फत नेपाली भाषा तथा वाङ्मयको श्रीवृद्धिमा समले विशिष्ट योगदान पुर्याउनु भएको छ ।’

प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले सम नाटक र कविता विधामा मात्र नभएर निबन्ध विधामा पनि उत्तिकै अब्बल रहेको बताए । उनले सम समन्वयवादी चिन्तक, दार्शनिक एवम् वैचारिक स्रष्टा भएको उल्लेख गरे । प्रा।डा। देवीप्रसाद सुवेदीले ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयमा बोल्दै समलाई नाट्य सम्राट भनिए पनि उनको मुख्य विधा कविता नै भएको बताए ।

उनले भने, ‘समले जीवनको अन्तिम घडीसम्म पनि कविता विधालाई निन्तरता दिनुभएको थियो । उहाँको व्यक्तित्व मूलरूपमा कवि नै हो ।’  नेपाली शिक्षा परिषद्की सदस्य सचिव प्राज्ञ रमा शर्माले समको निवासलाई संग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताइन् । उनले भनिन्, ‘समजीले मलाई स्नातकोत्तर तहमा पढाउनुभएको थियो । सम बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । राष्ट्रप्रति उहाँको विशिष्ट योगदान छ । उहाँको योगदानको सम्मानका लागि राष्ट्रले आवश्यक कार्य गर्न ढिला गर्नुहुँदैन ।’

प्रतिक्रिया