प्रदेश– २ मा पहिलोपटक रोजगार मेला

वीरगञ्ज । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले प्रदेश सरकारको समन्वय र सहकार्य बिना काम गरेको आरोप लगाएका छन् । शनिबार वीरगञ्जमा आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् । उनले प्रदेश सरकारको सहकार्य र समन्वयविना नै सबै संस्थाहरूले कार्यक्रम चलाएको कारण अपेक्षाकृत परिणाम आउन नसकेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले एकद्वार प्रणालीबाट सामाजिक संस्थाहरूलाई काम गर्न गराउनु कानुन ल्याइने बताए । उनले वीरगञ्ज महानगरपालिकाले प्रदेश नम्बर– २ मा पहिलोपटक रोजगार मेलाको आयोजना गरेकोमा धन्यवादसमेत व्यक्त गरे । कार्यक्रममा बोल्दै संघीय सांसद प्रदीप यादवले सीपविना युवाहरू विदेशिएका कारण विदेशमा युवाहरूलाई ज्यान गुमाउनुपरेको बताउँदै युवाहरूलाई आधाभूत तालिमको आवश्यकता रहेको बताए ।

उनले तालिम लिएको युवाहरूलाई सरकारले न्यून ब्याजमा ऋण उपलब्ध गराए मात्र बेरोजगारी काम हुने धारणा व्यक्त गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले बेरोजगारीलाई न्यून गर्नका लागि वृत्ति परामर्श रोजगारी मेलाको आयोजना गरिएको बताए । यस वर्ष एकदिने मेलाको आयोजना गरिए पनि आउने वर्षदेखि यो मेलालाई अझ व्यवस्थित बनाउँदै एक हप्ताको लागि मेलाको आयोजना गरिने बताए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ता, रोजगार तथा तालिम प्रदायक संस्थाका प्रदेश सचिव ललन तिवारी ,एमालेका जिल्ला अध्यक्ष प्रभु हजरा लगायतका व्यक्तिहरूले मेलाको महत्व तथा आवश्यकताका बारेमा जानकारी गराएका थिए । वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण कुमार महतोले स्वागत मन्तव्य व्यक्त गरेका थिए । मेलामा ४६वटा रोजगार प्रदायक कम्पनीहरूको स्टल राखिएको छ । लगभग १० हजार युवाहरूले मेलाको अवलोकन गर्ने आयोजक संस्थाहरूले अपेक्षा राखेका छन् ।

प्रतिक्रिया