‘मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौ’

भीमदत्तनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिए ।

‘तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ, मन्त्री भट्टराईले भने, ‘यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ । २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौँ गएको सम्झना अझै छ ।’ उनले अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिएका थिए । सो अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागीता रहेको थियो ।

विमानस्थलमा ५० सिटको जहाज सञ्चालन गर्न समस्या नरहेको बताइएको छ । २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो । विमानस्थल पुनः सञ्चालनका स्थानीयस्तरमा रमेश चन्दको नेतृत्वमा दबाब समूहसमेत गठन गरिएको छ । विमानस्थल संरक्षण एवं सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालु आवमा विनियोजनसमेत गरेको छ । ६५ बिघ क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर रहेको छ ।

प्रतिक्रिया