विभिन्न देशका बौद्ध गुरु काठमाडौंमा

काठमाडौं । नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न चाबहिलस्थित चारुमती विहारमा यही माघ २५ र २६ गते गर्न लागिएको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका ७० बौद्ध गुरु काठमाडौं आएका छन् । चारुमती बुद्धिस्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एशोसिएसनको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा भारत, श्रीलंका, थाइल्यान्ड, म्यान्मा, कम्बोडिया र लाओसका बौद्ध गुरु बौद्ध साहित्य वाचनका लागि आज काठमाडौं आएका हुन् । स्वदेशी तथा विदेशी भिक्षुले उक्त ग्रन्थका केही वाक्यांशलाई सामूहिक रूपमा पाठ गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिने उक्त कार्यक्रमका लागि नेपालबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका करिब १५० बौद्ध गुरु सहभागी हुनेछन् ।

बौद्ध धर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा छन् । त्रिपिटक पाली भाषामा लेखिएको महत्वपूर्ण ग्रन्थ हो । यो अन्य भाषामा अनुवाद गरिएको छ । शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रूपमा संकलन गरिएकाले यसलाई पवित्र कृतिका रूपमा लिइएको छ । उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । करिब दुई हजार ३ सय वर्ष पुरानो मानिएको उक्त विहार तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरी मालाले ढकप्प पारी सिंगारिएको छ ।

विहार परिसरमा त्रिपिटक वाचनका लागि समारोह स्थल चिटिक्क पारिएको छ । कार्यक्रमको प्रचारप्रसारबाट देशविदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको कार्यक्रमका संयोजक भिक्षु तपस्वी धम्मले जानकारी दिए । यही माघ २५ गते बिहान चारुमती विश्व साइकल यात्रा गरी दिउँसो त्रिपिटक वाचन गरिने छ । चाबहिलदेखि सुरु हुने साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनःकार्यक्रस्थलमा आउने कार्यक्रम छ ।

प्रतिक्रिया