ललिता निवास जग्गा प्रकरण, शान्ति समाजको आपत्ति

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल जिम्मेवारहरुलाई उन्मुक्ति दिन खोजेकोप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । समाजले आज जारी गरेको विज्ञप्तिमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरे पनि मूल जिम्मेवारलाई उन्मुक्ति दिन खोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख छ ।

नेपाली कांग्रेसले उपसभापति गच्छदार माथिको मुद्दा बदनियतपूर्ण भएको भन्दै सदन अवरुद्ध गरी भ्रातृ संस्थालाई सडकमा उतार्ने निर्णयप्रति पनि समाजको गम्भीर ध्यानाकर्षण भएको सभापति उत्तम पुडासैनीले बताए । ‘बालुवाटार जग्गा घोटाला प्रकरणमा अख्तियार जस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गरेको छ, जुन दुर्भाग्यपूर्ण छ’, उनले भने ।

भ्रष्टाचार प्रकरणमा आरोप लागेका नेताहरुको उन्मुक्तिका लागि सत्तारूढ र प्रमुख प्रतिपक्षी दल लाग्नु निन्दनीय भएको समाजको ठहर छ । देशभर सार्वजनिक जग्गा हडप्नका लागि विचौलिया सक्रिय रहेको र तिनको प्रभावमा राजनीतिक, न्यायिक र प्रशासनिक निकायका व्यक्तिले अनुचित कार्य गरेका कैयन उदाहरण भएकाले निष्पक्ष रुपमा छानबिन गर्न पनि समाजले माग गरेको छ । त्यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कानूनसम्मत कारवाही हुनुपर्ने समाजको भनाइ छ ।

प्रतिक्रिया