ओमान अन्तिम ओभरमा विजयी

काठमाडौं । मोहम्मद नदीमको अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । बुधबार ओमानले नेपाललाई १८ रनले हराएको थियो ।अमेरिकाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ओमानले ४९दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

मोहम्मद नदीम ८५ बलमा २ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहे । पहिलो खेलमा नेपालविरुद्ध अर्ध शतकीय अविजित इनिङ खेलेका नदीमले आफ्नो लयलाई निरन्तरता दिँदै टोलीको जित पक्का गरे । अकीब इलियासले सर्वाधिक ७२ रनको योगदान दिए । ३८ औँ ओभरको तेस्रो बलमा रस्टी थेरनले बोल्ड आउट गर्नु अघि उनले १ सय १० बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

कप्तान सौरभ नेत्रवलकारले ओपनर जतिन्दर सिंहलाई स्टिभ टेलरबाट ४ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि खावर अली र अकीबले ६६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । १९ औँ ओभरको चौथो बलमा इयान होल्यान्डले खावर अलीलाई ३१ रनमा एलबी डब्यू आउट गरे । उनले ५१ बलमा ५ चौका प्रहार गरे । टेलरले करिमा गोरलाई ११ रनमा क्याच आउट गराए । सुरज कुमार ३५ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । अमेरिकाका सौरभ नेत्रवलकार, रस्टी थेरन, स्टिभ टेलर र इयान होल्यान्डले १–१ विकेट लिए ।

त्यसअघि विहान टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटिएको थियो । इयान होल्यान्डले सर्वाधिक ६५ रनको योगदान दिए । ४२ औँ ओभरको तेस्रो बलमा अकीब इलियासको बलमा ठूलो सट खेल्ने प्रयासमा बिट हुँदा इयान बोल्ड आउट हुन पुगेका थिए । उनले ७८ बलमा ७ चौका प्रहार गरे । इयनको यो ओडीआई करिअरको पहिलो अर्ध शतक हो ।
एक समय १५ दशमलव ५ ओभरमा ५४–४ को कमजोर अवस्थामा पुगेको अमेरिकालाई पाँचौँ विकेटका लागि इयन होल्यान्ड र अक्षय होमराजले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कलीमुल्लाहले ३३ औँ ओभरको पाँचौँ बलमा अक्षयलाई ४४ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए । अक्षयले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

नवौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई १३ रनमा एलबिडब्लू आउट गर्दै ओमानलाई पहिलो सफलता दिलाए । दशौँ ओभरको दोस्रो बलमा बायाँ हाते तीव्र गतिका बलर बिलाल खानले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभ टेलरलाई ४ रनमा एलबिडब्लू आउट गरेपछि अमेरिकाले सुरुमै दबाबको सामना गर्नु परेको थियो । नदीमले १३ ओभरको अन्तिम बलमा ओपनर आरोन जोन्सलाई १२ रनमा बोल्ड आउट गर्दै अमेरिकालाई ४८–३ को कमजोर अवस्थामा पुर्याए ।

कप्तान जिशान मकसुदले १६ औँ ओभरको पाँचाैँ बलमा मोनक पटेललाई फष्ट सिलिपमा रहेका अकीब इलियासबाट १९ रनमा क्याच आउट गराए । पटेलले २८ बलमा ३ चौका प्रहार गरे । जिशानलेनै ३४ औँ ओभरको अन्तिम बलमा एल्मोर हचिन्सनलाई १ रनमा बोल्ड आउट गरे । करिमा गोर ६ रनमा बोल्ड आउट भए । तल्लोक्रममा तिमिल पटेल १६, कप्तान सौरभ नेत्रवलकार १४ र रस्टी थेरनले १० रनको योगदान दिए ।
ओमानका मोहम्मद नदीमले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कप्तान जिशान मकसुदले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । बिलाल खान र अकीब इलियास २÷२ विकेट लिए । कलीमुल्लाहको नाममा १ विकेट रह्यो । अब शनिबार नेपाल र अमेरिका भिड्ने छन् ।

प्रतिक्रिया