‘अर्जुन रेड्डी’ को नेपाली रिमेक

काठमाडौं । दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक भर्सन बन्ने भएको छ । यो चलचित्र बनाउने गरी नेपाली चलचित्र निर्माण कम्पनी एवं वितरक युवा फिल्म्सले नेपाली भर्सनको निर्माण अनुमति लिएको जनाएको छ ।

‘अर्जुन रेड्डी’ को नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिष श्रेष्ठले दिए । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशवले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको यो चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौतीपूर्ण काम हो । निर्माण पक्षका अनुसार यसले सुरुवात गरेको कार्य नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने एक अवसर पनि हो । युवा फिल्म्सले यसअघि कबड्डी, पुरानो डुंगालगायतका चलचित्रको अमेरिकामा वितरण गरिसकेको छ ।

साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र ‘सफर’ निर्माण भएको छ । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रका कलाकारलगायत अन्य टिमको बारेमा छिट्टै जानकारी दिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया