आहा ! भूस्वर्ग रारा

कात्तिकको अन्तिम हप्ता अर्घाखाँचीको सुपा देउराली, कपिलवस्तुको कृष्णनगर र तिलौराकोटका साथै विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नजिकबाट नियालेकी मेरा लागि यसैबीचमा अर्को यात्राको मेसो जु¥यो । मंसिरको १३ गते निस्किए ‘रारा यात्रा’ यात्रामा । रारा यात्राको चाजो पाजो मिलाउनु भएको थियो हरि दाइले ।

हामी १३ गते काठमाडौंबाट दुई स्कर्पियो गाडिमा निस्कियौँँ १६ जना ‘रारा यात्रा’का लागि । यात्रारत थियौँँ हरि दाइ, प्रकाश दाइ, ठाकुर दाइ, गायत्री दिदी, लीला सिस, रूपा भाउजु, विप्लप भाइलगायत । काठमाडौंबाट हिँडेको दिन हामी बर्दियाको हगैयामा वास बस्याैँ । हरि दाइको साथीको होटल रहेछ त्यहाँ । उहाँहरूको आतिथ्यताले हामीलाई मोहित तुल्यायो । खाना साह्रै नै मिठो थियो । अझ त्यहाँ खाएको माछा विशेष प्रकारको स्वादिष्ट थियो । सुर्खेत उक्कलने बाटोमा भेटिने बबई खोलाको माछा, खसी वा लोकल कुखुराको स्वादले नलोभ्याउँने कुरै भएन, हामीलाई पनि सम्झनलायक बनायो त्यहाँको स्वादले ।

गाडीबाट रारा यात्राका लागि धेरैले बाँकेको कोेलपुरलाई प्रस्थानबिन्दु बनाउँदा रहेछन् । त्यसो त हवाई मार्गबाट सिधै जुम्ला खलंगा, ताल्चा एयरपोर्ट गमगढी वा सुर्खेत झरेर रारा यात्रा गर्न पनि सकिने रहेछ । भोलिपल्ट बिहानै खाजा खाएर हामी सुर्खेततर्फ लाग्यौँँ । मैले सानैमा सुनेको र त्यतिवेला निकै चलेको गीत थियो– ‘सुर्खेत बुल बुल ताल, माया मै सानो हुनाले बिग्रियो माया जाल…’ सुर्खेत पुगेपछि यो ताल हेर्ने उत्कट अभिलाषा थियो ।

ताल भने पछि ठूलै होला भन्ने मनमा लागेको थियो, तर त्यस्तो रहेन्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत निकै रमणीय रहेछ । वीरेन्द्र सुर्खेत आफैँमा सुन्दर उपत्यका । सुर्खेतमा काँक्रेविहार, देउतीबज्यै र बुलबुल ताल घुम्नुपर्ने स्थानहरू रहेछन् । हामीले त्यहाँ देउती बज्यैको मन्दिरमा दर्शन ग¥यौँ र सुखद् यात्राको कामना गर्दै लाग्यौँ आफ्नो गन्तव्यतर्फ । भेरि नदीलाई नजिकबाट नियाल्दै भेरि पुलमा सुन्दर तस्बिर कैद गर्दै अगाडि बढ्यौँ हामी ।

दैलेखमा चिया खादा भेटिएका स–साना भाइ नवीन, महेन्द्र र शिवराजवादीले मिठो स्वरमा गीत सुनाए । उनीहरूको प्रतिभाले मोहित तुल्यायो हामीलाई । दोस्रो दिनको साँझको हाम्रो बसाई कालिकोट मान्मा मा भयो । त्यहाँ स्थित होटल सनलाइटमा हामीले आफ्ना पोका पन्तुरा थन्काएर त्याहाँको अर्गानिक खाना खाएर सुत्यौँ । यात्राको तेस्रो दिन हामीले विहानैबाट सुरु गर्यौँ ।

हिमा गाउँपालिका–४, कालिकाखेतु–जुम्लाको चिउडी खोलाको परम्परागत प्रविधिबाट बनेको काठको पुल जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा नेपाली सपुतहरूको आकृति कुँदेको रहेछ पुल र वरपरको रमणीय दृश्य क्यामेरामा कैद गर्दै अगाडि बढ्यौँ हामी । गोठीज्युला÷सिंजा बजार हुँदै आङ सिरिङ–सिरिङ हुने भीरपाखा पारगर्दै यात्रा रोमाञ्चक भइरहेको थियो । काठमाडौंबाट हिँड्दा सामान्य लागेको यो यात्रा त जबर्जस्ती साहसिक यात्रा भए झैँ लाग्यो त्यहाँका बाँदर लड्नेजस्ता भिर देखेपछि । मोटरबाटो राराको यात्रा आँट गर्ने गाह्रोजस्तै लाग्यो ।

तीन दिनको यात्राको राति हामी रारा पुग्यौँ । रारा पुगेर हाम्रो बसाइ स्थानीय होमस्टेमा भयो । लोकल च्यांग्राको मासु, मार्सी चामलको भात निकै स्वादिष्ट थियो, त्यसको स्वाद मज्जाले लिँदै खायौँ हामीले । हामी पुग्नु एक दुई दिनअघि नै त्यहाँ हिमपात भएको रहेछ । मौसम निकै चिसो थियो । हामीले केही छिन क्याम्प फायरको मज्जा लियौँ ।

क्याम्प सबै जना फायरमा जम्यौँं । क्याम्प फायरमा केही छिन्को नाचगानपछि भोलिको बिहान स्वर्गको टुक्रा रारालाई नजिकबाट नियाल्ने उत्कृट अभिलाषासहित निद्रा देवीको समीपमा पुग्यौँ । देशकै ठूलो ताल राराको तस्बिर र टिभीमा रारा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्थ्यो, आज त्यहीँ राराको समीपमा थिए म । निन्द्रादेवीले न छुँदासम्म कल्पना गरे वाह कस्तो होला साक्षात् रारा ! कतिवेला उज्यालो हुन्छ र नजिकबाट नियाल्न पाइएला ! भन्ने मनमा लागिरह्यो ।

यात्राको चौथो दिन हामी राराको समीपमा थियौँ । कठ्यांग्रिदो चिसामा बिहानै निस्कियौँ हामी रारालाई नजिकबाट नियाल्न । प्रतीक्षाको घडी साँच्चै कति लामो हुन्छ । रारालाई नजिकबाट नियाल्ने प्रतीक्षामा विभोर थिएँ म । हामी बसेको स्थानबाट कोही पैदल र कोही घोड सवार गरी बिहानका ७ बजेर ४५ मिनेटमा रारालाई आँखाभरि हेर्न पायौँँ । बसेको ठाउँबाट ४५ मिनेट जति पैदल हिउँ खेल्दै रमाउँदै हामी साँचै स्वर्गको अप्सरा राराको किनारमा पुगेका थियौँँ ।

राराताल देखिनेबित्तिकै राजा महेन्द्रले क्याम्प साइड (शिविर) खडा गरी कविता लेखेको खुला चौरमा पुगिन्छ । राजा महेन्द्रले रारालाई लेखेका छन्, ‘हे दैव, अहो के खनायौँ यसमा ? रारा कि अप्सरा ।’ रारा देख्नेबितिकै हामीले तीन दिनसम्म गरेको कष्ठपूर्ण यात्रा र बाटोमो जोखिम सबै एकैपटक बिर्सियौँ । आहा ! भू–स्वर्ग रारा ।

प्रकृतिको सुन्दर अनुपम उपहार रारा । आहा रारा । जो कोहीलाई पनि मन्त्रमुग्ध पार्ने रारा । प्रकृतिको यस जिवन्त अनुभवमा केही क्षण हराइरहे म । जति हेरे पनि धित नर्मने । हेरी रहुँझै लाग्ने राराको सौन्दर्यमा डुबुल्की मारिरहेँ । बल्ल रारालाई नजिकबाट नियाल्ने सपना पूरा भयो । शब्दमा वर्णन गर्न सकिँदैन रारालाई ।

हामीहरू रारालाई निजकबाट नियाल्दै आनन्द लिँदै ढुंगामा सयर ग¥यौँ । डुंगा बिहान ८ बजे देखि १२ बजेसम्म मात्र सञ्चालन हुँदोरहेछ । झन्डै एक घन्टा ढुंगा सयर ग¥र्यौँ हामीले । ठूल्ठूला हरिया पहाडले चारैतिरबाट घेरेका छन् रारालाई । समुद्र सतहबाट झन्डै तीन हजार मिटरको उचाइमा एकसय ६७ मिटर गहिराइमा पानी पानीले डम्म भरिएको ताल हो रारा ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अधिकतम लम्बाइ ५ किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर रहेको नेपालको सबैभन्दा ठूलो ताल हो रारा । रारा पुगेपछि मुर्माटाप पुग्नुपर्ने रहेछ । तर, हाम्रो तालिका त्यसै दिन फर्किनुपर्ने थियो । कर्णाली प्रदेश मात्र नभएर देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य मुगुको रारालाई हेरिरहँु भन्ने इच्छा चाहना हुँदा हुँदै पनि दुई बजे त्यहाँ खाना खाएर फर्कियौँ हामी मन र मस्तिष्कभरि सुन्दर रारा लिएर ।

फर्किंदा हाम्रो त्यसदिनको बसाइ कालिकोटमा थियो । यात्राको पाँचौँ दिन फर्किने क्रममा प्युठान जिल्लाको स्वगद्वारी दर्शन ग¥यौँ । प्युठानको ग्रामीण भेगमा रहेको यो मन्दिर पुरातात्विक हिसाबले निकै नै महत्वपूर्ण छ । महाप्रभुले तपस्या गरेर यज्ञ गरेको यो पुण्य भूमिमा नेपाल भारत लगायतका विभिन्न ठाउँबाट तीर्थालु भक्तजनहरू आउने गर्दछन् ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ मा पर्ने स्वर्गद्वारी आश्रम भालुवाङ–प्युठान सडकअन्तर्गत भिंगृबाट १३ किलोमिटरको दूरीमा रहेको छ । दाङको घोराहीबाट पनि स्वर्गद्वारी पुग्न सकिन्छ  । महाप्रभुको समाधीस्थल, गुप्फा, अखण्ड महायज्ञजस्ता धार्मिक आस्थाका धरोहरका सँगसँगै यहाँबाट देखिने हिमशृंखला स्वर्गद्वारीका मुख्य आकर्षण केन्द्र रहेकाछन् ।

स्वर्गद्वारी दर्शनपछि पाँचौँ दिनको हाम्रो बसाइ हामीले बुटवललाई बनायौँ । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल साँच्चिकै सुन्दर छ । देशका प्रमुख राजमार्गहरू पूर्वपश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगमस्थल रहेको बुटवल तिनाउ नदीको किनारमा अवस्थित छ । छैटौँ दिन हामी नारायणगढ हुँदै सौराह पुग्यौँ ।

पर्यटकहरूको रोजाइमा परेको यो स्थान पनि म पहिलोपल्ट पुगेकी थिएँ । सौराहमा हात्ती सफारीको मज्जा लियौँ । र, त्यही दिन काठमाडौंका लागि यात्रारत भयौँ । एउटा सुखद् र अविस्मरणीय यात्रा । हरेक यात्राहरू अविस्मरणीय त हुन्छन् नै यसपालीको यात्रा अझ अविस्मरणीय रह्यो । यो अवसर जुटाइदिनुभएकोमा आभारी छु आदरणीय हरिदाइप्रति ।

प्रतिक्रिया