फोहरबाट मल बनाउने योजना अलपत्र

लहान नगरपालिकाले ठूलो रकम खर्चेर बनाएको फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरक्षेत्रबाट संकलन हुने फोहरबाट मल बनाउने योजना अलपत्र परेको छ ।

फोहरबाट मोहर कमाउने उद्देश्यका साथ लहान नगरपालिका–४ स्थित खुट्टी खोलाको छेउमा बनाइएको फोहरमैला व्यस्थापन केन्द्र र त्यसभित्र निर्माण गरिएका संरचना प्रयोगमा नआउँदा लहान नगरक्षेत्रबाट संकलन हुने वार्षिक सात हजार ३ सय मेट्रिक टन फोहर उपयोगविहीन बन्दै आएको छ ।

लहान नगरपालिका–४ मा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्रको उचित व्यवस्थापन र हेरचाह हुन नसक्दा यसको अस्तित्व संकटमा पर्नुको साथै गौचरणमासमेत परिणत भएको छ । लहान नगरक्षेत्रबाट वार्षिक सात हजार ३ सय मेट्रिक टन फोहर संकलन हुँदै आएको छ ।

कुहिने चार हजार ३ सय ८० र नकुहिने दुई हजार ९ सय २० मेट्रिक टन फोहर लहानमा संकलन हुँदै आएको लहान नगरपालिकाको सामाजिक शाखाका भानुराज शर्माले जानकारी दिए । घरपरिवारबाट ५२ प्रतिशत, स्वास्थ्य प्रतिष्ठानबाट १५ प्रतिशत, शैक्षिक संस्थानबाट ८ प्रतिशत, उद्योग व्यापारबाट १६ प्रतिशत र अन्य ९ प्रतिशत फोहर लहानमा वार्षिक उत्पादन हुँदै आएको उनले बताए ।

उत्पादित फोहर संकलनको बनाइएको डम्पिङ साइडमा बनाइएको संरचना प्रयोगमा नआउँदा मल बन्ने फोहर पनि त्यतिकै खेर गइरहेको उनको भनाइ छ । लहान नगरपालिकाले फोहर संकलनको लागि बजारक्षेत्रमा रातो निलो डस्बिन वितरणसमेत गरिएको छ भने नियमित फोहर संकलनको लागि रिक्सा ३, ट्याक्टर पाँच, टिपर दुई, लोडर एक, ग्रेडर एक, डोजर दुई र एक्साभेटर दुई प्रयोग गर्दै आएको छ । तर पनि संकलन भएको फोहरमैला जताततै फ्याँक्ने गरिएको छ । यसले फोहर छुट्याउन बनाइएका संरचनासमेत प्रयोगविहीन बनेका छन् ।

लहान नगरपालिकाभित्रका फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसबाट मल उत्पादन गरेर बिक्री गर्ने लक्ष्यका साथ करिब एक बिघा क्षेत्रफलमा तारजालीले घेरबार गरी निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र यतिवेला डम्पिङ साइडमा रूपान्तरित भएको छ ।

नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत महेन्द्रकुमार खम्याङको प्रयासमा आर्थिक वर्ष ०७१÷७२ मा उक्त फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको थियो । स्थानीय विकास मन्त्रालयको करिब एक करोड रुपैयाँको लागतमा नगरपालिकाले निर्माण गरेको सो केन्द्रको संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा सरकारी लगानी बालुवामा पानी सरह बनेको स्थानीयको भनाइ छ ।

एकातिर फोहरमैला जताततै फ्यालिएको छ, भने भने अर्काेतिर फोहरमैला छुट्ट्याउनका लागि निर्माण गरिएको सेड प्रयोगविहीन बनेका छन् । लामो समयदेखि सेड प्रयोगविहीन हुँदा त्यहाँ रूख उम्रिएको छ भने सेड बालबालिकाको खेलकुद गर्ने स्थल बन्न थालेको स्थानीय बताउँछन् । यसका साथै स्वास्थ्य संस्थाबाट संकलन गरिएको सुई, कपास, प्लास्टिकका झोला, म्याद गुज्रेको औषधिसमेत जथाभावी फ्यालिएको छ । यसले वातावरणमा समेत नकारात्मक प्रभाव पारेको छ ।

यस्तै फोहरमैला व्यवस्थापन केन्द्रभित्रै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजले करिब पाँच लाख रुपैयाँको लागतमा बनाइदिएको इन्सिनेटर (स्वास्थ्य संस्थाबाट निस्किने फोहरलाई नष्ट पारेर त्यसबाट मल निकाल्ने उपकरणसहितको भवन) समेत प्रयोगविहीन अवस्थामा रहेको छ ।

कुहिने र नकुहिने गरी फोहरलाई छुट्ट्याएर त्यसलाई प्रशोधन गरी त्यसबाट मल निकाल्ने लक्ष्य थियो, लहान नगरपालिका–४ का वडाअध्यक्ष रामनाथ पण्डितले भने, ‘तर जे लक्ष्यका साथ बनाइयो अहिले त्यसको विपरीत जथाभाबी फोहर फ्यालिने गरिएको छ, नत सेडको प्रयोग भएको छ नत इन्सिनेटर कै प्रयोग भएको छ ।’ फोहर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक ठूलो रकम खर्चिने गरे पनि त्यसको व्यवस्थित व्यवस्थापन हुन नसक्दा सर्वसाधारण मात्रै होइन, स्वयं जनप्रतिनिधिसमेत असन्तुष्ट बनेका छन् ।

ठूलो लगानी गरे पनि फोहरमैला व्यवस्थापन केन्द्र बनाएको छ, तर त्यो प्रयोगविहीन र लथाथिंग बन्दा लगानी बालुवामा पानी हालेसरह नै भएको छ, वडाध्यक्ष पण्डितले भने, ‘जुन उद्देश्यका लागि राज्यको ठूलो लगानी गरी बनाइएको हो, त्यो नै हुन नसकेपछि यसको औचित्य नै छैन् ।’ यसलाई व्यवस्थित गरी वृक्षारोपण, रमणीय वातावरण बनाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आफ्नो सोच रहेको वडाध्यक्ष पण्डितले बताए । यसमा जनप्रतिनिधि र स्थानीय तहले बढी ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

यता लहान नगरपालिकाका प्रमुख मुनी साहले फोहरमैला व्यवस्थापन केन्द्रमा फोहर फ्याक्न नदिने विभिन्न प्रकारको षड्यन्त्र हुँदै आएकाले त्यसलाई व्यवस्थित गर्न नसकिएको बताए । उनले फोहरमैलालाई व्यवस्थित गरी फोहरबाट मल उत्पादन गर्ने योजनालाई सफल बनाउन नगरपालिकाले योजना बनाइरहेको बताए ।

प्रतिक्रिया