अमेरिकामा परियारलाई सम्मान

काठमाडौं । नेपाली गायक शिव परियार अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको न्यु जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड इन आर्ट्स’ बाट उनी सम्मानित भएका हुन् ।

उनलाई जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सी सिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी सहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यु जर्सी च्याप्टर प्रेसिडेन्ट समिर बुढाथोकीले संयुक्तरूपमा प्रदान गरेका थिए ।

गायक परियारले आफ्नो २० वर्षको सांगीतिक यात्रामा पाँच सयभन्दा बढी गीत गाइसकेका छन् भने १० वटा गीति एल्बममा आफ्नो स्वर र संगीत सिर्जना गरेका छन् । जर्सी सिटी सहरमा १२ जनवरीमा न्यु जर्सी राज्यमा बसोबास गर्ने नेपाली भाषीले संयुक्तरूपमा आयोजना गरेको सांगीतिक एवं सम्मान साँझमा गायक परियारले आफ्ना नयाँ तथा पुराना गीत गाए थिए ।

गायक परियारको बहुचर्चित गीत ‘पिउँदिन भन्दाभन्दै पिलायो साथी’ ले गीत युट्युब च्यानलमा दुई करोड ५३ लाखभन्दा बढीले हेरिसकिएको छ । त्यस्तै, ‘आँसुको अर्थ के थाहा’ गीत डेढ करोडभन्दा बढी पटक हेरिएको छ । उनका मोक्ष्य (२००५), स्वयम् (२००८), कदम्बिनी (२००८), क्या दामी (२००९), फाटेको मन (२०१०), पागल (२०११), कथाले मागेपछि (२०१२), ओन्ली यु मेरो साथी (२०१२), टाढाको साथी (२०१३) र शिव बुक (२०१५) लगायतका एल्बम् सार्वजनिक भएका छन् ।

रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक परियार दर्जनाँै सम्मान एवं पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । उनी सन् २०१६ मा नेपाल सरकारबाट क्षेत्रीय प्रतिभा पुरस्कारबाट समेत सम्मानित भएका छन् ।

प्रतिक्रिया