२० करोड घुस काण्डः प्रसाईँ र डा. गिरीको दोहोरी

काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध मुद्दा दायर गरेका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले गिरीविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी हालेको बताएका हुन् ।

बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले २० करोड घुस मागेको भन्दै प्रसाईंले केही दिनअघि पनि पत्रकार सम्मेलन गरेका थिए । उनले गिरीले आफूलाई नियतबस नै सम्बन्धनका लागि निवेदनसमेत लिन नमानेको र घुस मागेको भन्दै उजुरी हालेका हुन् ।

पत्रकार सम्मेलनमा प्रसाईंले मेडिकल कलेजका लागि आफूले सम्पूर्ण प्रक्रिया पूरा गरेको भएपनि सम्बन्धन नपाउनु दुःखद भएको भन्दै अब न्यायका लागि सर्वोेच्च अदालत जाने बताए । उनले भने, ‘सर्वोच्चमा न्यायमूर्ति बसेका छन्, उनीहरूले त कुरा सुन्लान नि ! ।’

यता डा. गिरीले ठाडो निवेदन मात्रै ल्याएको भन्दै दर्ता नगरिएको बताउँदै आएका थिए तर, त्यसको प्रतिउत्तरमा प्रसाईंले आफू झुठो नबोल्ने र अपराध नगर्ने भन्दै बाचा खाए । उनले भने, ‘मेरो शाखा सन्तान भन्न नपाऊँ, म दुर्गादेवि मान्ने मान्छे हुँ, दक्षिणकाली मातामा जाऊँ कालो बोको काटेर नि रगत खाँदै बसौँ । मेरो दर सन्तान नासिएर जाओस् । मैले ३०० पेजको किताव बोकेर गएको थिएँ । उहाँले २ पन्नाको ठाडो निवेदन भन्नुभएछ ।’

त्यस्तै प्रसाईंले अदालतबाट आफूलाई न्याय हुने कुरामा पूर्ण विश्वस्त रहेको सुनाए । प्रधानमन्त्रीले दुई महिनामा दिन्छु भनेको सम्बन्धन दुई वर्ष बितिसक्दा समेत सम्बन्धन नदिएको भन्दै हालसम्म सम्बन्धन नपाउँदा आफू करोडौँ ऋणमा डुबेको समेत दुःख पोखे । ‘मंगलबार ३ महिनाको ब्याज साँढे ६ करोड तिरेँ । उनले भने, ‘आँसु पिएर हिँडिरहेको छु । म जस्तो पीडित, मेरो ठाउँमा अन्य कोही भएको भए आत्महत्या उहिल्यै गरिसक्थे ।’

उनले थपे, ‘यत्रो संसद्बाट पास भएर राष्ट्रिपतिबाट लालमोहोर लगाइएको ऐन के हो ?’ उनले प्रतिप्रश्न गरे ‘यो लाटाको घोती हो ?’ यदि ऐनमा भनेको मापदण्ड आफ्नो कलेजले पूरा नगरेको भए त्यो देखाउन चुनौती दिए । उनले भने, ‘ऐनमा भएको कुन मापदण्ड पुगेको छैन ? छैन भने के पुगेको छैन त्यो भन्नुप¥यो, पु¥याउने जिम्मा हाम्रो हो ।’

आफूले पहिलेदेखि नै सम्बन्धनका विषयमा कुरा उठाएको भए पनि सञ्चारमाध्यमले ‘माफिया’ र ‘मार्सी’ भनेर उडाइएको भन्दै दुख पोखे । उनले थपे, ‘झापामा भौतिक संरचना रोएर बसेका छन्, मेडिकल कलेज टुहुरो भएर बसेको छ, त्यो सम्पत्ति हाम्रो आफ्नै हो, सरकार सम्बन्धन दिने पक्षमा छैन । राज्यबाट लुटिएको मान्छे हुँ, त्यसैले चौथो अंगसामु आएको हुँ । ऋणले बनाएको संरचना नष्ट हुन लाग्यो, बचाइदिनुप¥यो ।’

सबै प्रक्रिया पूरा गरे पनि राज्यले आफूलाई अपराधीजस्तो व्यवहार गरेको भन्दै प्रसाईंंले प्रश्न गरे, ‘मलाई अपराधी भनियो, के म अपराधी हुँ ? अपराधी भनेको कस्तालाई भन्छन्, चेलीबेटी बेचेको छैन, लागुऔषधको कारोबार र हतियार खरिद पनि गरेको छैन, म कसरी अपराधी भएँ ?’ उनले थपे, ‘मैले इन्डिया (भारत) मा विकास गर्न खोजेको होइन, मैले नेपालमा नै विकास गर्न लागेको हो । हाल १५ सयलाई रोजगार दिएको छु ।’

उनले डा. गिरीसँग टुँडिखेलमा ‘फेस टु फेस’ हुन पनि चुनौती दिए । उनले गिरीकै घरमा गएर पनि आफू फेस टु फेस कुरा गर्न तयार रहेको बताए । उता आयोगका उपाध्यक्ष डा. गिरीले आफूले घुस मागेको कुरा गलत भएको र आफ्नो मानहानी भएको बताएका छन् । २० करोड घुस मागेको आरोप लगाएको भन्दै डा. गिरीले प्रसाईंविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

डा. गिरीले मंगलबारै जिल्ला अदालत काठमाडौंमा गाली बेइज्याति र मानहानीको मुद्दा दर्ता गरेका हुन् । डा. गिरीले भने, ‘हुँदै नभएको कुरालाई कपोलकल्पित तरिकाले कथा बनाएर मेरो प्रतिष्ठामाथि आघात पुग्ने गरी गम्भीर आरोप लगाइयो । मुद्दामा मैले हदैसम्मको कारबाही र हदैसम्मको क्षतिपूर्तिको माग गरेको छु ।’

प्रतिक्रिया