‘ए’ डिभिजन लिग : च्यासल र एपिएफको बराबरी

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय टोली एपिएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।  दशरथ रंगशालामा सोमबार भएको दोस्रो खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । तुलनात्मक रुपमा राम्रो खेलेको च्यासलले बढी मौका खेरफालेको थियो ।  बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । एपिएपका राजन गुरुङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै ६ खेलबाट ६ अंक बनाएको च्यासल १०औँ स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको एपिएफ ११औँ स्थानमा छ ।

एनआरटीसँग पुलिसको हार
राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा सोमबार लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै एनआरटीले महत्वपूर्ण जित हासिल गरेको हो ।
दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोडेको हो । दर्शनले ७६ औँ मिनेटमा गोल गरेका थिए । राजेश परियारको पासमा दर्शनले पेनाल्टी बक्सको मध्यभागबाट गोल गरेका थिए । ६ खेलमा एनआरटीको यो तेस्रो जित हो । २ खेलमा हार बेहोरेको एनआरटीले १ खेलमा बराबरी गरेको थियो ।

टोलीको खातामा १० अंक पुगेपछि गत सिजन लिगको पुछारमा रहेका कारण टोलीको यो सिजनमा २ अंक घटाइएको छ । एनआरटीको ८ अंक छ भने पुलिसले यसअघि नै ८ अंक जोडेको थियो । जितपछि एनआरटी छैटौँ स्थानमा उक्लेको छ भने पुलिस छैटौँबाट सातौँ स्थानमा झरेको छ । पुलिसले भने छैटौँ खेलमा आइपुग्दा दोस्रो हारको सामना गर्नुपरेको छ । यसअघि टोली रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो । लिगमा आजै हुने अर्को खेलमा च्यासल युथ क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया