क्लासिकमा ‘साइलेन्स इज ब्युटिफुल’

ललितपुर । क्यानभासमा उन्मुक्त रङको लयात्मक वेग । मथिंगल नै हल्लाउने गरी पात्रहरू सल्बलाइरहेका छन् । केही माथिबाट तल झरिरहेका रङका उद्वेगात्मक हुन्डरीमाझ आतिसबाजीझै उमंगको रौनक देख्न सकिन्छ । सुदूरपाटनका फाँटमा हिनहिनाइरहेका घोडा र तिनको वेगजस्तै क्यानभासमा कलाकार संजित महर्जन रङको आवेगात्मक ढंगले हिनहिनाइरहेका छन् ।

पाटन चाकुपाटस्थित क्लासिक ग्यालरीमा ‘साइलेन्स इज ब्युटिफुल’ शीर्षकमा क्यानभासमा रङको उत्सव मनाइरहेका छन् युवा कलाकार संजित । उनले यसपटकको प्रदर्शनीमा रङलाई उन्मुक्त ढंगले क्यानभासमा प्रस्तुत गरेको पाइन्छ । विषयप्रति उदार देखिएका उनले रङलाई भने स्वतन्त्र रूपमा क्यानभासमा छोडेका छन् । तैपनि रङको मार्धुयता र प्रस्तुति निकै गहन, भावपरक, विषयप्रधान र उद्वेगात्मक छ ।

रङको जादुयी प्रस्तुतमाझ संजितले प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विषयलाई समेत शालिनताका साथ उधिनेका छन् । जहाँ मानवीय संवेग, आवेग, उत्कर्ष, संवेदना तथा मनोभावलाई एकीकृतरूपमा समावेश गरिएको छ ।

पाटन चावहालका सञ्जितले कुमारीपाटीमा आर्ट स्टुडियो खोलेर कलाकर्ममा आफूलाई समर्पित गर्दै आएका छन् । चित्रमा मनोभावनात्मक विषयलाई रमाइलो पाराले चित्रण गर्दै आइरहेका उनले यसपटकको प्रदर्शनीमा रङलाई स्वतन्त्र ढंगले उन्दै त्यसमा शान्त तर उमंगको भावलाई उठान गरेका छन् ।

उनी कलाका यायावर यात्री हुन् । उनी कहिले हिमालमुनि एक्लै पुग्छन् त कहिले प्रकृति र संस्कृतिले सम्पन्न स्थानमा पुग्छन् । यायावरी ढंगले क्यानभासमा तिनलाई मानवीय क्रियाकलापसँग मिलाउँछन् र बनाउँछन् उद्वेगात्मक आकृति ।

प्रकृति र विविध संस्कृतिको परख गरेपछि त्यसलाई मनोवेगका साथ क्यानभासमा प्रस्तुत गर्न उनी तम्सिन्छन् । उनी कहिले फकिरजस्तै हिमाली छायाँको सपिम पुग्छन् । हरियाली वनस्पतिको ओतमा हिमालको चाँदनी रूपलाई सुललित ढंगले क्यान्भासमा ‘साइलेन्स’ ढंगले उधिन्छन् ।

कहिले काठमाडौं उपत्यकाको सांस्कृतिक विविधता र त्यसको मौलिकतालाई नजाँदिदो गरी रङका माध्यमले अभिव्यक्त गर्छन् । कहिले काठमाडौंबाहिरको सांस्कृतिक वैभवलाई समेत उनले कैयौँपटक कलात्मक रूपमा प्रस्तुत गरेका छन् । हुनत उनका कलामा मानवीय मनोदशा र त्यसको परिवेशलाई उतारिएको पाइन्छ ।

काठमाडौं विश्वविद्यालयबाट चित्रकलामा स्नातक गरेका उनले केही स्कुलमा कला विषय पढाउँछन् । बाँकी समय कलाकर्मै बिताउँछन् र रंगिन बनाउँछन् सपाट क्यान्भासमा मानवीय संवेगलाई । यही सन्दर्भमा क्लासिक ग्यालरीमा चलिरहेको उनको तेस्रो एकल प्रदर्शनीमा मनभित्रको उमंग र त्यसको फराकिलो आयामलाई अनुभूत गर्न सकिन्छ ।

चित्रमा रङको गतिमय प्रस्तुतिसँगै मानवीय संवेगलाई कलाकार संजितले सहरीया परिवेशसँग समेत अन्तरघुलन गराएका छन् । दुई दर्जन बढी चित्रमा उनले सहर, प्रकृति र संस्कृतिको विषयलाई मानवजातिको संवेगसँग तुलना गरेका छन् ।

उनले यात्राका क्रममा अनुभूत गरेका स्मृतिलाई कलामा अभिव्यक्त गर्दै मानवजातिको सोचलाई प्रस्तुत गरेका छन् । उनी आफ्नो सिर्जनका बारेमा भन्छन्, ‘यात्रा र त्यसको रोमाञ्चकताले मलाई क्यानभासमा आफ्ना भावना अभिव्यक्त गर्ने ऊर्जा मिल्दछ । हिमाल, पहाड, ढुंगा, हरियाली जे हेरे पनि रङले निकालेका टेक्चरजस्तै लाग्छ ।

तिनै चीजलाई मैले अनुभवजन्य स्मृतिका रूपमा क्यानभास उतारेको छु ।’ उनले यात्राका क्रममा मान्छेले जीवनमा कहिल्यै अनुभूत गर्न नसकेको अनुभव गर्ने बताउँदै तिनलाई चित्रमा प्रस्तुत गर्दा बडो सन्तोष आउने जिकिर गरे । उनले भने, ‘आफूभित्रको कुरा नियाल्ने मौका पाइने, प्रकृतिका अनेक ब्युटिफुल चिज महसुस गर्न सकिने भएकाले बारम्बार म यात्रामा निस्कन्छु । वास्तवमा शान्त हुन पाउनु, एक्लै प्रकृतिमा रम्नु भनेको अनुपम अनुभव र सिकाइ हो । त्यसैले पनि साइलेन्स इज ब्युटिफुल भनेर आर्ट प्रदर्शनी गरेको हुँ ।’

उनले प्रदर्शनीमा राखेका कतिपय चित्रमा दृश्यात्मक अनुभूति दिलाउने गरी चित्र राखेका छन् । त्यस्तै, यात्राका क्रममा बनाइएका स्केचलाई समेत प्रदर्शनीमा राखेका छन् ।

प्रतिक्रिया