खर्चिलो पर्यटकका लागि माथिल्लो मुस्ताङ

भौगोलिक हिसाबले तिब्बत र माथिल्लो मुस्ताङको बनावट उस्तै छ भने, धर्म, भाषा, वेषभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि तिब्बत र माथिल्लो मुस्ताङको मिल्दोजुल्दो रहेको छ । त्यस्तै घोडा, याक, चौँरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका र खेतीपाती गर्ने तरिका लगभग उस्तै छ । माथिल्लो मुस्ताङको अर्को पृथक पहिचान भनेको, विभिन्न स्थानमा प्राचीन गुफा र गुम्बाहरू प्रशस्तै छन् 

नेपालका अन्य पर्यटकीय गन्तव्य हेरी माथिल्लो मुस्ताङले गुणस्तरीय पर्यटन प्रवद्र्धनमा केही बढी नै योगदान गरी रहेको छ । स्थानीय ल्होपा÷लोवा भाषामा ‘ल्हो मन्थाङ’ भनिने माथिल्लो मुस्ताङलाई अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिडेन किङडोम, मड सिटी, लस्ट किङडोम, अप्पर मुस्ताङ आदि नामले चिनिन्छ । स्मरणीय छ, २०४६ सालअघि कानुनी रूपमा विदेशीहरूका लागि प्रवेश निषेध थियो –‘माथिल्लो मुस्ताङ ।’

तर, अमेरिकी नागरिक स्टान आर्मिङटङद्वारा लिखित र लन्ली प्लानेटद्वारा प्रकाशित ‘द हिमालय किङडोम’ नामक किताबमा उल्लेख भएअनुसार विदेशीहरूका लागि प्रवेश निषेध भनिए तापनि २०४६ सालअघि पनि तत्कालीन शाही पाहुनाहरू भने सुटुक्क माथिल्लो मुस्ताङ जान्थे । त्यस्तै गुगलमा सर्च गरेर हेर्दा, सन् १९५२ मा स्वीस नागरिक टोनी हेगनले पहिलो विदेशीको रूपमा ‘ल्हो मन्थाङ’को भ्रमण गरेको देखिन्छ । त्यस्तै दोस्रो व्यक्तिको रूपमा सन् १९६४ मा फ्रेन्च नागरिक माइकल पिसेलले ‘ल्हो मन्थाङ’को भ्रमण गरेका थिए ।

२०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित सर्तहरूसहित माथिल्लो मुस्ताङमा विदेशीहरूले पर्यटकीय उदेश्यले भ्रमण गर्न पाउने गरी खुल्ला ग¥यो । जस्तै माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने विदेशी पर्यटकहरू कम्तिमा २ जना हुनैपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एकजना सरकारी सम्पर्क अधिकृत अनिवार्य रुपमा लानैपर्ने (हाल खारेज भैसकेको छ ।), १० दिनमा ट्रेकिङ सक्नैपर्ने (आधार खुलाएर २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर प्रति दिन ७० डलर सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा एक हजारभन्दा बढी विदेशी पर्यटक जान नपाउने, विदेशी पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक लगायत अन्य सहयोग दिन नपाउने, दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनु पर्ने आदि सर्तहरूसहित विदेशी पर्यटकहरूलाई भ्रमण गर्न खुल्ला गरिएको थियो ।

नेपालका केही हिमाली जिल्लाहरूझैँ निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकहरूका लागि खुल्ला भएको वर्ष (सन् १९९२ मा) चारसय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा एकहजार ६६ जना विदेशी पर्यटकहरूले माथिल्लो मुस्ताङको भ्रमण गरे । यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा एकहजार ५७ जना विदेशी पर्यटक माथिल्लो मुस्ताङको भ्रमण गरे । त्यसपछि सरकार–तत्कालीन विद्रोही माओवादीबीच चलेको आन्तरिक द्वन्द्वसँगै माथिल्लो मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकहरूको संख्या घट्न थाल्यो ।

सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकको संख्या तीन अंकमा झ¥यो । सन् २००६ सम्म यो क्रम जारी रह्यो । २०६२÷२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या बढेर सन् २००७ मा चार अंकमा चढ्यो । सन् २००७ मा ११ सय ५७ जना विदेशी पर्यटकहरूले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा स्थानीयहरू नै चकित हुने गरी २१ सय ९४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

भगौलिक हिसाबले तिब्बत र माथिल्लो मुस्ताङको बनावट उस्तै छ भने, धर्म, भाषा, वेषभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि तिब्बत र माथिल्लो मुस्ताङको मिल्दोजुल्दो रहेको छ । त्यस्तै घोडा, याक, चौँरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका र खेतीपाती गर्ने तरिका लगभग उस्तै छ । माथिल्लो मुस्ताङको अर्को पृथक पहिचान भनेको, विभिन्न स्थानमा प्राचीन गुफा र गुम्बाहरू प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानववस्ती रहेको भनी विभिन्न अनुसन्धानहरूबाट पत्ता लागेको छ । जुन विदेश पर्यटकहरूका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय वासिन्दा एवम् देशकै लागि गर्व गर्न लायक प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू हुन् ।

जस्तो लो घ्याकरमा अवस्थित लगभग १३ सय वर्ष पुरानो बौद्घ गुम्बा, चराङको पूरानो दरबार, छोसेरको प्राचीन गुफा आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । भनिन्छ, लो घ्याकरको गुम्बा गुरु पद्यम सम्भवले तिब्बतमा बुद्घ धर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकका लागि सुरुमा सलामी दस्तुर सातसय डलर तोकेको भए तापनि पछि घटाएर पाँचसय डलरमा झारेको छ ।

माथिल्लो मुस्ताङ जाने पर्यटकबाट सरकारले लिँदै आएको सो सलामी दस्तुर अभैm पनि महँगो भएकोले घटाउनुपर्ने भनी स्थानीय वासिन्दाहरूले माग राखेको भन्दै हालै राससलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरू जस्तै अनलाइन न्युज पोर्टल, प्रिन्ट मिडिया, एफएम रेडियो, टीभी आदिमा समाचार आएको थियो । तर, यो पंक्तिकार एक ट्रेकिङ गाइड पनि भएको आधारमा हेर्दा हामीले माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पो, चुम–भ्याली, नार–फु, कञ्चनजंघालगायत केही क्षेत्रलाई अझैँ पनि क्याम्पिङ ट्रेकका लागि शौखिन विदेशी पर्यटकहरूका लागि जोगाई राख्नुपर्छ जस्तो लाग्छ ।

किनभने, यी क्षेत्रको प्रवेश शुल्क घटाएर ‘वेस्ट टुरिष्ट’ वा भनौं ‘ब्याक प्याकर’, अझ नेपाली पर्यटन क्षेत्रमा चलेको भाषामा स्पस्टसँग भन्ने हो भने ‘झोले’ पर्यटकहरूलाई जताभावी फोहर मैला गर्न र, वातावरण विनाश गर्नका लागि मात्रै लर्को लगाउनुभन्दा संख्या थोरै भए पनि पैसा प्रशस्त तिर्न सक्ने र गुनिला पर्यटकलाई मात्रै प्रवेश दिँदा नै राम्रो होला कि ? बरू त्यसरी सम्बन्धित क्षेत्रको भ्रमणमा प्रशस्त पैसा तिरेर जान सक्ने र गुनिला पर्यटकले तिरेको सलामी दस्तुरको ७०–८० प्रतिशतभन्दा बढी रकम स्थानीय वासिन्दाहरूको स्वास्थ्य, शिक्षा, गरिबी निवारण, बाटोघाटो निर्माण तथा मर्मत–संभार, गुम्बा, मठ–मन्दिर मर्मत, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको जिर्णोद्धार आदिमा खर्च गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया