अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा संकटकालको घोषणा

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् । अमेरिकी टापु क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकोले राष्ट्रपति ट्रम्पले संकटकालको घोषणा गरिएको आदेश जारी गरेका हुन् । उनले भूकम्प प्रभावितको लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारको कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सबै प्रकारको राहत, उद्धार तथा व्यवस्थापनलगायतका कार्य गर्ने संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत व्यवस्थापन निकायलाई दिइएको छ । गत मङ्गलबार त्यस क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प आएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन् ।

अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार भूकम्पको कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।  भूकम्पको कारण त्यस क्षेत्रका कैयौँ भवनहरु क्षतिग्रस्त भएका थिए भने, विद्युत सेवासमेत अवरुद्ध भएको थियो । पछिल्लो केही हप्तामा त्यस क्षेत्रमा हजारौँ कम्पन अधिकांश आमनागरिकले महसूस गर्न समेत नसकेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अहिले ठूलो भूकम्प गएको पुएर्टो रिकोमा ३४ लाख जनसंख्या रहेको छ भने सो स्थान मियामि, फ्लोरिडादेखि १६ सय किलोमिटर टाढा पर्ने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया