इरानको विमान दुर्घटनामा परेका सबैको मृत्यु भएको पुष्टी

तेहरान । इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । यस विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य रहेका थिए । ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन् ।

इस्लामिक रिपब्लीक न्युज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उद्धृत गर्दै उनीहरु सबैको मृत्यु भएको पुष्टी गरेको समाचार सम्प्रेषण गरेको छ । प्रारम्भिक विवरणअनुसार उक्त विमान युक्रेनको राजधानी किभतर्फको यात्रामा रहेको थियो । विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ ।

‘विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मी त्यसतर्फ पठाएका छौँ, हामीले केही यात्रुहरूलाई बचाउने प्रयास गरेका थियौँ’, इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनसँग भने । इरान र अमेरिकाबीच तनाव बढिरहेको बेला भएको सो दुर्घटना दुई देशको तनावसँग सम्वन्ध रहेको वा नरहेको बारेमा भने स्पष्ट नभएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया