जिम्मा लिएको चार वर्षपछि बल्ल विद्यालय भवन निर्माण सुरु

बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चार वर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी–ब्राइट जेभी पोखरीचौरी काभ्रेपलाञ्चोकलाई रु ४० करोड ७१ लाख ९२ हजार ३७६ को ठेक्का परेको छ ।

सात दिनभित्र उक्त निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) सँग सम्झौता गरेपछि निर्माण अगाडि बढ्नेछ । पाँचखाल नगरपालिकामा रहेको भगवती मावि, दुग्धेश्वर मावि र आजाद मावि, बनेपा नगरपालिकाको आजाद मावि, नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि र कानपुर मावि, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, पनौती नगरपालिकाको शारदा मावि, महाभारत गाउँपालिकाको भैरव मावि र खानीखोला गाउँपालिकाको जनहित माविका भवन सो सहयोगले बन्नेछ ।

भवन निर्माण नहुँदा विद्यार्थी जीर्ण भवनमा नै बसेर अध्ययन गर्दै आइरहेका छन् । चौरीदेउराली गाउँपालिका– २ नार्गेगगर्चेस्थित खाँडादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजीव लामाले समयमा विद्यालय भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै जोखिममा अध्ययन गर्न बाध्य भएको बताए । महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । प्रधानाध्यापक खुवनाथ दुलालले समयमा विद्यालयको भवन नबन्दा अझै दुई वर्षसम्म विद्यार्थीलाई टहरामै राख्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया