निर्भया काण्डका दोषीलाई ८ माघमा फाँसी

नयाँ दिल्ली । आठ वर्षअघि भएको सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसी दिइने भएको छ । पटियाला हाउस अदालतले निर्भया बलात्कारपछि हत्या गरेको अभियोगमा चारै जनालाई माघ ८ गते बिहान सात बजे फाँसीको सजाय सुनाएको हो ।

सजायसँगै अभियुक्तहरू मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई सो दिन बिहान फाँसी दिन अदालतले मंगलबार ‘डेथ वारेन्ट’ जारी गरेको छ । उनीहरूले १६ डिसेम्बर २०१२ मा निर्भयाको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए । यद्यपि अदालतले उनीहरूलाई डेथ वारेन्टकाविरुद्ध उच्च अदालत जानका लागि अनुमति पनि दिएको छ ।

२३ वर्षीया दिल्लीकी निर्भया नामकी एक मेडिकल छात्रालाई चलिरहेको सार्वजनिक बसमा ६ जना युवकको समूहले सामूहिक बलात्कार गरेको थियो । बलात्कारपछि उनीहरूले निर्भयाको हत्या गरेका थिए । सामूहिक बलात्कार र हत्याको अभियोगमा बदालतले दोषी ठहर गरेको थियो ।

सन् २०१४ मार्चमा दिल्ली हाईकोर्टको फैसलाविरुद्ध उनीहरू सर्वोच्चसम्म पुगेका थिए । तर‚ सर्वोच्चले उनीहरूको निवेदन खारेज गरिदिएको थियो । १६ डिसेम्बर २०१२ मा आफ्ना सहकर्मीसँग विश्वविद्यालय बाहिर निस्किएकी निर्भयामाथि यस्तो घटना भएको थियो ।

यो घटनालाई सर्वोच्चले दोस्रो दुनियाँमा हुने बर्बरताको घटनाको संज्ञा दिएको थियो । चार दोषीबाहेक प्रमुख आरोपी राम सिंहले सुरु अदालतमा मुद्दा चल्दै गर्दा तिहाड जेलमा आत्महत्या गरेका थिए । अन्य एक अपराधी सो घटनाको समयमा नाबालिक भएका कारण उसलाई ३ वर्षका लागि सुधारगृहमा राख्ने आदेश भएको थियो । सन् २०१५ मा सो आदेश पूरा गरी सुधारगृहबाट बाहिर निस्किएपछि उनी एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन् ।

प्रतिक्रिया