भूमि मिचिँदा पनि किन चुप छ सरकार ?

नेपाल एक सार्वभौम एवं अखण्ड मुलुक हो । यसको आफ्नै इतिहास र पहिचान छ । नेपाल र नेपाली हुनुका पछाडि यसले निकै महत्व राख्दछ । एकताकाको विराट नेपाल त्यसपछिको एक सानो सार्वभौम देशको रूपमा नेपालको आफ्नो पहिचान रहेको छ । यो एक अखण्ड राज्य हो । यहाँको हरेक भूमि र सिमानाको पनि आफ्नै महत्व अनि परिभाषा रहेको छ । क्षेत्रफलका आधारमा नेपाल देश वा भूगोलका हिसाबले नेपाल एक सानो देश हो । यो विश्वका दुई ओटा उदाउँदा शक्ति राष्ट्र चीन र भातको बीचमा अवस्थित छ । हिमालयको देश , शान्तिका अग्रदूत भगवान गौतम बुद्ध,भृकुटी र सीता जन्मेको देश भनेर चिनाउनु पर्दैन होला विश्व सामु नेपाललाई ।

नेपाल सामरिक दृष्टिकोणले महत्वूर्ण एक भूगोल हो । यदि नेपाल हुँदैनथ्यो भने पनि जसरी आज कास्मिरका लागि पाकिस्तान र भारत दिन रात जुधिरहेका छन् । एक आपसमा त्यसैगरी दुई ओटा साँढे ( चीन र भारत) को लडार्इं उहिल्यै भैसक्थ्यो होला । एसिया महादेशमा यी दुई ओटा शक्तिहरू सायद अस्तित्वमा नै रहने थिएनन् होला । यस अर्थमा पनि नेपाल एक यस्तो भौगोलिक दृष्टिकोणले सीमा बनिदिएको छ कि भारत र चीन आम्ने साम्नेको अवस्थामै आउन सक्ने अवस्था छैन ।

हुनत चीन र भारत बीच डोकलाम, हिन्द महासागर र अरुणाचल लगायतका क्षेत्रमा सीमा विवाद यथावत छ । प्रत्येक दिन भारत र चीनका सैनिकहरू एक आसमा साँढे जुधाई( कुम ठोका ठोक) त गरिनै रहन्छन् । उनीहरूबीच नत कास्मिरको जस्तो लडाईंनै हुन सकेको छ नत एक अर्कालाई आरोप र प्रत्यारोप लगाउन नै छोडेका छन् । सन १९६२ मा युद्ध लडिसकेका यी दुई राष्ट्रहरूको लडार्इं अब आम्ने साम्नेको अवस्थामा हुने सम्भावना पनि तत्काल कमै देखिन्छ ।

नेपालको उत्तरमा अवस्थित तिब्बत जो चीनको स्वशासित क्षेत्र हो । त्यसका अपदस्त राजा दलाई लामा भारतमा निर्वासित जीवन बिताइ रहेका छन् । नेपाल हुँदै तिब्बत जाने सहज मार्गलाई नेपालले चीन एक नीतिको सिद्धान्तमा अडिग रहेर चीन विरोधी गतिविधिहरू नेपालबाट हुन नदिनका लागि हरदम प्रयासरत देखिन्छ । नेपालको हिमालयको पर्खालभन्दा उत्तरतिरको सिमानामा चीन विरोधी र पश्चिमा गतिविधिहरू हुन नपाउनु भन्ने मात्र सोच चीनको रहेको देखिन्छ ।

चीनले नेपाली भूमिमा स्वभावतः भारतीय प्रभाव परेको खण्डमा आफ्नो देशमा विदेशी चलखेल बढ्न सक्छ भन्ने त्रासका कारण जहिले पनि आपूmलाई सतर्क राखेको पाइन्छ । चीनको दक्षिणपूर्वमा अवस्थित सानो देश जो साम्प्रदायिक,धार्मिक एवं साँस्कृतिक रूपले पनि भारतसँग सामिप्यता राख्दैन त्यो देश हो भुटान । भुटान राजनीतिक रूपले आज भारत परस्त छ । भारतले भुटानमाथि सैनिक, राजनीतिक रूपले विजयी हासिल गरिसकेपछि आज भुटान भूगोलमा एउटा अलग राष्ट्र भएतापनि त्यहाँको अर्थ तन्त्र, विकास ,स्रोतको सदुपयोग र परिचालनको ठेक्का लिए जस्तैगरी भारतले आफ्नो विस्तारवादी चरित्र प्रदर्शन गरिरहेको छ ।

भुटानको जलस्रोतको उपयोग र विकास निर्माणको योजना दिल्लीमा हुन्छ । भुटानको अधिकांश विद्युत् भारतीय क्षेत्रमा उपयोग भैरहेको छ । भुटानका सबै गाउँ,सहरहरू बिजुली बत्तीले झिलिमिली त होलान क्षणिक कालका लागि तर दीर्घकालका लागि भने भारतले खनेको खाडलमा भुटानको अर्थतन्त्र अवश्यपनि पर्ने निश्चित छ । भुटानको जस्तो भौगोलिक अवस्था यदि नेपालको भैदिएको भए आज नेपाल पनि भूगोलमा देश तर डाडु पन्यूँ भारतल नै चलाउने अवस्था अवश्य पनि आउथ्यो होला ।

सन् १९६२ मा चीन र भारतबीच भएको घमासान युद्धपछि भारतले २०१७, ०१८ सालतिर चीनमाथि निगरानी राख्नका लागि भारतले कालापानीमा भारतीय प्रहरी पोस्ट राख्न सुरु ग¥यो । हाल भारतीय सेना कालापानी र लिपुलेक क्षेत्रमा चीनको अवरोध बन्नकै लागि नेपाली सीमा मिचेर बसेको छ । भारतीय पक्षले सीमा अतिक्रमण गरेको विरोधमा तत्कालीन अवस्थामा अर्थात २०५५ साल जेठ महिनाको २२ गते नेकपा मालेका युवा विद्यार्थीहरूले भारतीय विस्तारवाद मुर्दावाद, भारतीय सेना कालापानी छोड जस्ता नाराहरू नलगाएका पनि होइनन् ।

विप्लव माओवादी निकट विद्यार्थी संगठनले पनि दुई वर्ष पहिले लिपुलेकसम्म पुगेर भारतीय विस्तारवादको विरोध गरेको हुन् । तथापि भारतीय पक्षले लिपुलेक क्षेत्रको ७ लाख ४४ हजार रोपनी जग्गा अतिक्रमण गरेकै छ । गंजी,शकुटीयांङदी लगायतका ठाउँहरूमा दार्चुलाका हिमाली क्षेत्रका मानिसहरूले भेडीगोठ राख्ने गरेका ठाउँहरू सबै भारतीय कब्जामा रहेका छन् ।

भारतले दार्चुलाको कालापानीको ३७ हजार हेक्टर, कञ्चनपुरको बह्रमदेव,टनकपुर ब्यारेजको २२२ हेक्टर, गडड चौककीको ३० बिगाह, शारदा ब्यारेज, शुक्लाफाँटा आरक्षको २९ वर्गकिलोमिटर, पराशन,(जहाँ हालै मात्र भारतीय सेनाका गोलीलागि आनन्द बजारका गोविन्द गौतम मारिए ) खुड्डाकंकड, कैलालीकोसत्ती, विरानाला, भादानालाको ५ सय विगाहा, भजनी, लालबोझी र धनसिंहपुर लगायतका क्षेत्रदेखि नवलपरासीको शुस्तालाई पनि भारतीय अतिक्रमणको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ ।

भारतीय पक्षले जबरजस्त रूपले कालापानी,सुस्ता,महेशपुर,पशुपतिनगर, कोईलाबास लगायतका क्षेत्रगरी देशैभरी ६४ हजार हेक्टर नेपाली भूमि कब्जा गरेको छ । नेपालमा पटक–पटक नेपाली भूमि अतिक्रमण भैरहँदा पनि नेपाल सरकार र सरकारको नेतृत्व लिनेहरूले भारतका सामु चुइँक्कसम्म पनि बोल्न सकेको अवस्था छैन ।

भारतीय पक्षले नेपाली भूमिलाई जसरी दादागिरीको हैसियतले हडपेको छ त्यसरी नै आफ्नो भूमि वा उत्तरी शक्ति राष्ट्रले हिन्दमहासागरदेखि लिएर ब्रम्हमपुत्रसम्मको क्षेत्रलाई हडप्न नसकोस् भन्नका लागि १९६२मा चीनसँग पराजित भएपछि भारतीय प्रधानमन्त्री स्व.इन्दिरा गान्धीले १९६८ मा भारतमा र को स्थापना गरिन् र त्यसले दक्षिण एसियामा आफ्ना कूटनैतिक तरिकाले साना देशहरूमाथि संकट ल्याउने, उनीहरूलाई जहिल्यै पनि दास बनाई राख्ने कसरी भारत परस्त बनाउन सकिन्छ भन्ने मिसन अगाडि बढिरह्यो ।

भारतले श्रीलंकामा शान्ति कायम गर्ने बहानामा होस्, या उसले पाकिस्तानबाट बंगलादेशलाई अलग गर्ने कार्यमा होस् या १९७७ मा राष्ट्रघाती लेन्डुप दार्जे जस्ता आत्मघाती प्याधा बनाएर सिक्किमलाई भारतमा गाभ्ने कार्यहोस् यी यावत मुद्धामा भारत सफल भएको देखिन्छ ।

प्रत्यक्ष होस् या अप्रत्यक्ष रूपले नेपालमा तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्ध र नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा भारत र भारतीय पक्ष जोडिएको देखिन्छ । यी सबै कार्यका पछि भारत चाहान्छ कि दक्षिण एसियामा आपूm बलियो शक्ति कसरी बन्न सकिन्छ । कसरी महाशक्ति चीनसँग आपूmबाट प्रत्यक्ष आम्ने साम्ने लडार्इं नलडेपनि कसरी अन्तर्राष्टिूय शक्ति केन्द्रसँग मिलेर कुटनीतिक रूपले आफ्नो शक्ति बलियो बनाउन सकिन्छ भन्ने ध्याउन्नमा मात्र भारत देखिन्छ ।

भारतले चीनको भौगोलिक अवस्था पहिचान र उससँग युद्ध लड्नकालागि नै उचित गन्तव्य र स्थलको रूपमा सिक्कीमलाई उपयोग गर्ने उद्देश्यका साथ सिक्कीमलाई आफ्नो भू–भागमा गाभेको छ । ठूलो क्षेत्रफल ओगटेको भारतले भूगोल कै लागि पहाडी क्षेत्र भएको सिक्कीमलाई आफ्नो देशमा गाभ्नुपर्ने र नेपालको लिपुलेकमा अतिक्रमण गर्नुपर्ने कुनै कारण नै छैन ।

नेपालमा स्थाई सरकार र राजनीतिक स्थायित्व भएका बखत यदि नेपाल सरकारले आफ्नो भूमिको बारेमा आवाज नउठाएको खण्डमा उसले हाल अतिक्रमण गरेको नेपालको ६४ हजार हेक्टर नेपाली भूमिलाई नै नेपालमा प्रवेश गर्ने र यही थलोबाट चीन विरोधी युद्ध छेड्ने अस्त्रको रूपमा भारतले दीर्घकालीन रणनीति बनाएको हुनुपर्दछ भन्ने कुरोलाई किन नेपालका राजनीतिज्ञहरूले बुझ्दैनन् ।

सामरिक दृष्टिकोणले नेपाल पश्चिमा राष्ट्रहरूका लागि अन्ततोगत्वा चीन र भारत विरोधी गतिविधि गर्ने र नेपाललाई सदैव अभाव र पीडामा रुमल्लिएको देशका रूपमा स्थापित गराउनका लागि शक्तिराष्ट्रहरूले भूमिका खेल्न सक्ने भएकाले पनि अब राष्ट्रसेवक नेपालीहरू र राजनीतिक दलहरू एकजुट हुन जरुरी देखिन्छ । नेपाल एक सार्वभौम सत्ता सम्पन्न देश हो । यो देश न कसैको पराधीन र उपनिवेशमा नै बाँच्यो । नेपाली वीर गोरखाले आर्जेको स्वतन्त्र एवं सार्वभौम मुलुकलाई आज टेको बनाएर यहाँबाट तीर हान्ने दाउमा शक्ति राष्ट्रहरू उद्यत छन् तर पनि नेपाली शासकहरू सत्ताझपडीमा मात्र केन्द्रित रहेका छन् ।

नेपालसँग न कुनै बलियो राष्ट्र नीति नै छ नत यसले नेपालमाथि भैरहेको थिचोमिचोलाई अन्तर्राष्ट्रिय न्यायलयमा नै लिएर वकालत गर्न सक्छ । देश गरिब छैन । जनता गरिब छैनन् तर नेपालका केही दरिद्र राजनीतिज्ञहरूका कारण विश्वसामु नेपालीहरूले गरिबीको रेखामुनि रहेर अन्तर्राष्ट्रियस्तरमा हेपिनु परिरहेको छ । सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएको भारत १९४९ मा स्वतन्त्र भएको चीन अनि त्यही सेरोफोरोमा २००७ सालमा राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना भएको नेपाललाई हेर्ने हो भने नेपाल अझै पनि १६ औँ शताब्दीको अवस्थाबाट अगाडि बढ्न सकिरहेको छैन ।

प्रजातन्त्र हुँदै लोकतन्त्र र संघीय गणतन्त्रात्मक संरचनामा पुगिसकेको नेपाल र नेपाली जनताको शान्ति,समृद्धि ,विकास र राष्ट्रिय एकताको सूत्रमा बाँध्न नेपालका राजनीतिज्ञहरू आज असफल भएका देखिन्छन् । अब नेपालका राजनीतिक दलहरूले बेलैमा आफ्नो परराष्ट्र नीतिलाई स्पष्ट बनाएर राष्ट्रिय हित र स्वार्थका लागि नेपालीको शिर कहिल्यैपनि नझुक्ने पद्धति,संस्कार र संविधानको कार्यान्वयको बाटोमा नलागेको खण्डमा नेपाल इतिहासमा एक देश थियो भन्ने समय नआउला भन्न सकिदैन ।

नेपालका राजनीतिक दलहरूले अब संघीय संरचनालाई बलियो बनाउँदै राष्ट्रिय एकता,सामाजिक सद्भाव नबिग्रिने गरी संरचनाको निर्माण गर्दै स्वदेशमै रोजगार,सीपको विकास गर्नका लागि विदेशिएका युवा शक्तिलाई स्वदेशमै बस्ने वातावरण र रोजगारीको सृजनाका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने अभिभारा सबैको काँधमा आइलागेको छ । विश्व शान्तिको विगुल फुक्ने गौतम बुद्ध,भृकुटी, सीता जस्ता महामानवहरूको अपमान भैरहेको छ ।

शान्तिभूमिलाई विगतमा जसरी नेपाललाई आन्तरिक द्वन्द्वको चेपुवामा राखियो त्यसरी नै पराई र उत्तर दक्षिणका छिमेकीहरूले नेपाललाई युद्ध छेड्ने युद्ध थलोको रूपमा उपयोग नगर्लान् भन्न सकिदैन । तसर्थ नेपालले समयमै आफ्नो र शक्तिको सही सदुपयोग,परिचालन र नेपालको गरिबीलाई न्यून गर्नका लागि राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ त्यसतर्फ बेलैमा होस् पु¥याउन जरुरी देखिन्छ । सबैलाई चेतना भया ।

प्रतिक्रिया