अब सम्झनामा मात्रै केशव दाइ र दीपक क्षेत्री

बितेको दुई दिनमा देशले दुई कलाकार गुमायो । कलाकार दीपक क्षत्रीको निधन भएको भोलिपल्ट अर्का कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको हो । शनिबार कलाकार दीपक क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिनुभयो भने आइतबार बेलुका केशव दाई हामी माझ रहनुभएन भन्ने खबरले अत्यन्त मर्माहत बनायो 

म चलचित्र पत्रकार भएको नाताले धेरैपटक केशव भट्टराई दाईसँग भेटेर कुराकानी गरेकी छु । एउटा राम्रो चलचित्रकर्मीसँगै विगत एकवर्षदेखि नेपाली चलचित्रको संरक्षण संवद्र्धनका लागि स्थापना भएको चलचित्र विकास बोर्डको अध्यक्षजस्तो गरिमायम संस्थामा रहनुभएका केशव भट्टराई अब हाम्रो सम्झनामा मात्र रहनुभएको छ । नेपाली फिल्म क्षेत्रले फेरि एक अभिभावक गुमाएको छ । फिल्म क्षेत्रका चम्किला नक्षत्र केशव भट्टराईको असमायिक निधनले सिंगो फिल्म क्षेत्रलाई ठूलो क्षति पुगेको छ । कहिले नरिसाउने, कसैको कुभलो नचिताउने, चलचित्रलाई नै जीवन ठान्ने, आफ्नो सम्पूर्ण जीवन नेपाली चलचित्रका लागि समर्पित गर्नुभएका भट्टराईको निधनको खबरले स्तब्ध भएकी छु ।

बितेको दुई दिनमा देशले दुई कलाकार गुमायो । कलाकार दीपक क्षत्रीको निधन भएको भोलिपल्ट अर्का कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको हो । शनिबार कलाकार दीपक क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिनुभयो भने आइतबार बेलुका केशव दाई हामी माझ रहनुभएन भन्ने खबरले अत्यन्त मर्माहत बनायो । हृदयघातका कारण मध्यरातमा नै हामीलाई छोडेर उहाँले जानुभयो । पारिवारिक स्रोतका अनुसार भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ५४ वर्षीय भट्टराईका एक पत्नी र एक छोरा हुनुहुन्छ ।

तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट ०४५ सालमा अभिनय यात्रा सुरु गर्नुभएको भट्टराईलाई मैले मृदुभाषी तथा सरल व्यक्तित्वका रूपमा पाएकी थिए । चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्ष र चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष रहिसक्नु भएका भट्टराईले सयौ सिनेमामा अभिनय गर्नुभएको छ भने उहाँले निर्माण गरेको पछिल्लो चलचित्र थियो– ‘यात्रा – अ म्युजिकल भ्लग’ ।

यो चलचित्र गतवर्ष अन्तिममा रिलिज भएको थियो । ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘यात्रा’ उहाँले निर्माण गरेका चर्चित सिनेमा हुन् । कलाकार हुँदै फिल्म निर्माणमा होमिनुभएका केशव भट्टराई ०७५ चैत ७ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । दुईवर्षे कार्यकालका लागि सरकारले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । नेपाल विद्युत् प्राधिकरणमा दुई दशक जागिर खानुभएका भट्टराईले बोर्डमा नियुक्त भएपछि प्राधिकरण छोड्नु भएको थियो ।

यस्तै लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहनुभएका ५८ वर्षीय दीपक क्षत्रीले दर्जनौं नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘द कमान्डो, अंशवण्डा’ ‘सिमाना’, ‘राज्जा रानी’, ‘झोला’ र ‘मसान’लगायतका चलचित्रमा उहाँको अभिनय रहेको छ ।

चलचित्र पत्रकार संघको उपाध्यक्ष रहेकी म प्रायः दैनिकजसो राजधानीमा हुने चलचित्र सम्बन्धि विभिन्न कार्यक्रममा भेट हुन्थ्यो केशव दाईसँग । मैले दाई भन्थे उहाँले सधैँ ‘के छ बहिनी भनेर हाल खबर’ भनुहुन्थ्यो । दुई दिन अघि मात्र चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशक्तीकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको थियो । भट्टराईज्यू कै सभापतित्वमा कार्यक्रम भएको थियो । यो समितिको संयोजकमा शवनम मुखिया हुनुहुन्छ भने म पनि सदस्य रहेकी छु ।

केशव दाईसँग सोमबार हेटौँडा जाने पूर्व निर्धारित कार्यक्रम पनि थियो । ‘मोफसलमा नेपाली चलचित्रको बजार विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम मंगलबारका लागि चलचित्र पत्रकार संघ मकवानपुरले हेटाँैडामा राखेको थियो । सोही सन्दर्भमा हामी सोमबार हेटौँडा जाने कार्यक्रम रहेको थियो । सो कार्यक्रममा उहाँसँगै, बोर्डसदस्य नरेन्द्र महर्जन, चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघ, निर्देशक समाज, समीक्षक समाज, चलचित्र पत्रकार संघ बुटवल, पोखरा, दाङ, चित्तवनलगायतका करिब ५० जना पत्रकारहरूको समेत सहभागीता रहने कार्यक्रम थियो ।

त्यस्तै, मिलाप मासिकको कार्यकारी सम्पादक रहेकी म केशव दाईको कभर स्टोरीको तयारी पनि अन्तर्वार्तासहितको । तर, अब केशव दाईसँगको साथ सदाका लागि छुटिएको छ, विश्वास नै न लाग्नेगरी । जन्म पछि मृत्यु सत्य हो, मृत्युमा पीडा अवश्य हुन्छ नै तर स्वाभाविक मृत्युभन्दा असामयिक निधनको पीडा अझ बढी हुने रहेछ । यो असामहिक निधनले सम्पूर्ण चलचित्र जगत नै शोकाकुल बनेको छ यतिवेला ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि भट्टराईले केही राम्रा कामको सुरुवात गर्नुभएको थियो । चलचित्र क्षेत्रले पनि केशवमाथि निकै भरोसा गरेको थियो । अध्यक्षको कुर्सीमा आसिन भएपछि ‘मलाई अंग्रजदेखि अहिलेका पुस्तासम्मले विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई म मर्न दिन्नँ’, उहाँले भन्नुभएको थियो । तर, उहाँले हामीलाई आफ्नो बाँचा अधुरै छोडेर जानुभएको छ । सधैँ मुस्कुराइरहने केशव, सधै खुसी देखिने केशव दाइले हामीलाई यति छिट्टै छोडर जानुहुन्छ भन्ने कल्पना पनि थिएन ।

नेपाली रजतपटका कुशल दुई कलाकर्मीले तपाईं हामी सबैलाई छोडेर यस संसारबाट बिदा हुनुभएको छ । उहाँहरूलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने ठूलो संख्यामा कलाकारहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलु बाँस्कोटा अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुग्नुभएको थियो । उहाँको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको छ । पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिएकोे थियो भने पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

हाल पृथ्वीमा सात अर्ब मानिस बसोवास गर्दछन् । हरेक देशमा जनसंख्याको दर बढी नै रहेको छ यसको नियन्त्रण गर्न प्रयासका बाबजुत पनि । हामी सबै मानिसहरू प्रकृतिकै उपज हौँ । हरेक वर्ष १५ करोडको दरले मानिसहरूको मृत्यु भइरहेको छ । केही मान्छे मात्र मरेर पनि बाँच्ने आधार सिर्जना गरेर गएका छन् । त्यस्ता व्यक्तिमध्येका हुन्– केशव भट्टराई र दीपक क्षेत्री ।

उहाँहरूको निधनले नेपाली चलचित्र क्षेत्रमा क्षति पुगेको छ । नेपाली चलचित्र जगतका जुझारु योद्धाको अवसान भएको छ । उहाँहरूको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारमा धैर्य धारणको शक्ति प्राप्त होस भन्ने प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछु । अलबिदा सर्जकद्वय । यहाँहरूको सम्झना मानस्पटलमा झलझली नाचिरहने छ भने कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।

प्रतिक्रिया