हामी मान्छे कि पशु ?

हामीले तिनकै गुणगान गाउँदै छौँ, जसले हाम्रो भू–भाग हामीबाट छल गरेर लगे, सारा संसारलाई लुटे र आफूमा केही नहुँदा नहुँदै पनि अहिले समृद्धशाली बनेका छन्, कैयौँ निर्दोषहरूको रगत बगाए, यातना दिए, दास बनाए । यो अभागी देश पाश्चात्य लुटेरा देशहरूलाई टुलुटुलु हेरेर बाँच्दै छ, उनैको अन्ध नक्कल गर्दैछ, उनकै संकेतमा यसरी नाँच्दै छ, जसरी कुनै बाँदर मदारीको संकेतमा नाच्ने गर्दछ 

अब केही दिनमा सदाझैँ २५ डिसेम्बर र १ जनवरी आउँदै छ । यसको पूर्वमध्य रात्रिमा सदाझैँ देशका अधिकांश प्रबुद्ध, वृद्ध, युवा, युवतीहरूले एकअर्कालाई इसाई नववर्ष –२०२० को बधाई तथा शुभकामना आदान प्रदान गर्नेछन् । होटलहरूमा मदिरादी अभक्ष्य एवं बुद्धिनाशक पदार्थहरूको भोज–भण्डार हुनेछ, अभद्र नृत्य–संगीतमा देशका तरूणहरू मदमस्त हुनेछन् । सम्पूर्ण विश्वमा आतिशबाजी हुनेछ, अरबौँ डलर जलाएर नष्ट गरिनेछ, पर्यावरणको भयांकर विनाश गरिनेछ तर दुर्भाग्य नै भन्नुपर्दछ कि कुनै पर्यावरणवादी वा न्यायालयले यसमा रोक लगाउने कुरो सम्म पनि सोचेनन् ।

यदि कुनै विवेकशिल पुरूषले यो अभागी नेपालसँग सोधोस् त आज केको प्रसन्नतामा भावाविभोर भएर तिमी मदमस्त हुँदैछौ ? अनि मात्र यो आधुनिक दीन–हीन तथा मानसिक दासताको सिकार नेपालले यही उत्तर देला कि आजको दिनमा हजरत ईशा (येशु) को खतना भएको थियो, यस्तै सुनिन्छ । जब यस प्रगतिशील (?) नेपाल सँग यो सोधियोस् कि कुनै अन्य देशमा जन्मेको, कुनै स्वार्थी सम्प्रदाय विशेषको तथाकथित् प्रवर्तकको खतना भयो त यसमा तिमीलाई कुनचाहिँ आनन्द र गौरव प्राप्त भयो ? तब यो दासताउन्मुख, दीनता तथा दुर्दशा ग्रस्त राष्ट्रले के भन्ला ?

वस्तुतः हाम्रा बहादुर पुर्खाको कारणले अंग्रेजी साम्राज्यवादले यस देशलाई छुन सकेन, अंग्रेजले यहाँ प्रत्यक्ष शासन गरेर यसलाई पूर्णतः दास बनाउन सकेनन्। तर हाम्रा विवेकशून्य शासक वर्गको स्वार्थ–लिप्सा र कमजोरीका कारण विकास र आधुनिकताको नाममा अहिले हाम्रो शिक्षा, संस्कृति, सदाचार, खान–पान, आचार–विचार, आहार, वेशभूषा, भाषा सबै उनै अंग्रेजको दास बनेको छ । बहुदलीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक यात्रा थालनी गरेपश्चात् नै यो देश यस्तै दासमनोवृत्ति भएका सनातन वैदिकधर्म र संस्कृति विरोधीहरूको हातमा गयो जसको कारणले परतन्त्रता र पराधीनता विगतको अपेक्षा कयौँ गुणा बढेको छ र हामी त्यसकै दुष्चक्रको महाजालमा फस्दै छौँ ।

साँच्चिकै यस देशको तुलना अहिले विश्वका कुनै अन्य निम्नस्तरको देश सँग पनि गर्न सकिन्न । हामीले तिनकै गुणगान गाउँदै छौँ, जसले हाम्रो भू–भाग हामीबाट छल गरेर लगे, सारा संसारलाई लुटे र आँफूमा केही नहुँदा नहुँदै पनि अहिले समृद्धशाली बनेका छन्, कयौँ निर्दोषहरूको रगत बगाए, यातना दिए, दास बनाए । यहाँ राणा र राजाको दासताबाट मुक्त हुने नाउमा भयांकर आन्दोलन त भयो, यो लडाइमा हजारौँ क्रान्तिकारीहरूले आफ्नो प्राण आहुती त गरे, माताहरूले आफ्नो काख रित्तो त बनाए, कैयौँ माताहरूले वैधव्यतालाई स्वीकार पनि गरे, असंख्य बालबालिकाहरू अनाथ भए तर विडम्बना नै भनौँ यो देश अंग्रेजको यस्तो मानसिक तथा बौद्धिक दास मात्र बन्दै छैन, निरन्तर आफ्नो गौरवशाली इतिहास, संस्कृति, शिक्षा, सदाचारलाई बिर्सेर पाश्चात्य संस्कृतिको दलदलमा धसिँदै गइरहेको छ ।

यो अभागी देश पाश्चात्य लुटेरा देशहरूलाई टुलु–टुलु हेरेर बाँच्दै छ, उनैको अन्ध नक्कल गर्दैछ, उनकै संकेतमा यसरी नाच्दै छ, जसरी कुनै बाँदर मदारीको संकेतमा नाच्ने गर्दछ । अरे ! बाँदर वा पशुमा त बुद्धि–विवेक नै हुँदैन तर तिमी त आफूलाई बुद्धिमान् र विवेकशील मान्दछौँ ।

ओह ! मेरो नेपाल ! के यो पनि जीवन हो ? अरे ! यो त पशुको जीवन हो, जो लठ्ठीले चुट्ने आफ्नो निर्दयी मालिकको संकेतमा नाच्दछ । त्यो मालिकले त लठ्ठीको चुटाइका साथसाथै त्यस पशुलाई दाना–पानी पनि दिन्छ तर कुनै देशले यस नेपाललाई केहि पनि दिइरहेको छैन, तब पनि यो उनको संकेतमा, परम्परामा व्यर्थको नाच नाचेर कसलाई र किन प्रसन्न गर्न चाहँदैछ ? स्मरण रहोस्, कसैको नक्कल त्यसैले गर्दछ र संकेतमा त्यहि मात्र नाच्दछ, जो या त कायर तथा दुर्बल हुन्छ अथवा मूर्ख । के हाम्रो नेपाललाई यस्तै सम्झने प्रयास गरिँदैछ ?

मेरा आदरणीय देशवासीहरू हो ! के एक जनावरसँग नेपालको कुनै सम्बन्ध छ र ? के यसको कुनै प्राकृतिक घटना सँग केही सम्बन्ध छ र ? यदि छैन भने नयाँ वर्ष कसरी भयो ? वर्तमान संसारमा यही चलन चल्दै छ, तब हामी पनि विवश छौँ भनेर कसैले भन्छ भने त केही छैन, व्यवहारमा प्रयोग गरिरह्यौँ तर ‘अर्थ न बर्थ गोविन्द गाई’ गरेर बहुला जस्तो सिङ् न पुच्छरको कुरा किन गर्दै छौँ ? किन आफ्नो मान–सम्मान, स्वाभिमान, अस्मिताको चिता जलाउँदै छौँ ? के तिमीलाई आफ्नो रक्त–विज अथवा यस जन्मदात्री नेपाल–भूमिप्रति कुनै पनि अभिमान छैन ? के स्वयंमा स्वतन्त्रसँग सोच्ने अलिकति पनि बुद्धि रहेन अब ? के तिमीले आफ्ना पूर्वजहरूलाई नितान्त मूर्ख तथा दास नै मानिसक्यौ ?

तिमिले कहिल्यै विचार गरेका छाँै कि छैनाँै कुन्नि, आधी रातमा उल्लास मनाउने निशाचरी परम्परा तिमिलाई कसरी बुद्धिमत्तापूर्ण प्रतीत हुँदैछ ? जब समस्त दिवाचर प्राणीहरू सुतेका हुन्छन् र स्वास्थ्यको दृष्टिले सुत्नु उत्तम पनि हो, तर यी महानुभावहरू अभद्र नाच–गान तथा मदिरामा व्यस्त हुन्छन् । हाम्रो वैदिक संस्कृति तथा परम्परामा शुभ कार्य प्रभातको वेलामा नै उचित मानिन्छ, जुन स्वास्थ्य विज्ञानको दृष्टिले पनि सर्वथा अनुकूल नै छ । हाम्रो नववर्षमा ऋतु परिवर्तनको वातावरण हुन्छ, नयाँ फसलको आगमन हुन्छ, प्रकृतिमा नयाँ परिवर्तन हुन्छ तर एक जनवरीमा यस्तो के परिवर्तन हुन्छ र ? हाम्रो त यो पनि दावा छ कि वैदिक संवत्सरको प्रथम दिनमा नै मनुष्य तथा वेदको उत्पत्ति भएको थियो, के कसैले एक जनवरीमा यस्तो केही भएको दावा गर्न सक्छ ?

यदि यस्तो हैन भने जाग ! हेर ! सुन ! हाम्रा महान् पूर्वजहरूको आत्माले हामीलाई धिक्कार्दै छ । उठ, दासताको बन्धनबाट मुक्त हुनको लागि मैले आह्वान गर्दछ ु। आऊ ! मैले यो विश्वास दिन्छु कि हाम्रो प्राचीन वैदिक संस्कृति र वैदिक ज्ञान–विज्ञान ब्रह्माण्डीय ज्ञान हो, ईश्वरीय ज्ञान हो । आऊ, त्यतै तिर पाइला चाल्ने प्रयास गरौँ, तब मात्र हामीलाई कसैको संकेतमा नाच्ने आवश्यकता हुने छैन । उठ ! मेरो देश–नेपाल उठ, अतीतको स्मृतिहरूबाट केही त सिक, अतीतका भूलहरूबाट पनि केहि शिक्षा लिएर उज्ज्वल भविष्य निर्माण हेतु कटिबद्ध होऊ ।

मेरा देशका प्रबुद्ध नागरिकहरू हो ! यदि तपाइँमध्ये कसैले आफ्नो अस्तित्व बन्धकी राखेर दासत्व स्विकार्नु नै बुद्धिमत्तापूर्ण वा गौरवमय मान्नुहुन्छ भने र नेपाली वैदिक ज्ञान–विज्ञानको निन्दामा नै आफ्नो प्रगतिशीलता या क्रान्तिकारिता मान्नुहुन्छ भने, अथवा तपाइँ आफूलाई निकै शिक्षित तथा वैज्ञानिक मेधासम्पन्न मान्नुहुन्छ भने त मैले तपाइँको स्वागत गर्नै पर्ने हुन्छ । नत्र आउनुहोस्, हामी आपसमा मिलेर सत्य तथा स्वाभिमानको निर्णय गरौँ ।
(प्रेरणा श्रोतः आचार्य अग्निव्रत नैष्ठिक वैदिक वैज्ञानिक, वैदिक एवं आधुनिक भौतिक विज्ञान शोध संस्थान)

प्रतिक्रिया