धनुषा विष्फोटः घाइते प्रहरी इन्सपेक्टरको पनि मृत्यु

काठमाडौं । गएराति धनुषामा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । विस्फोटमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर दाहालको पनि मृत्यु भएको हो ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । इन्सपेक्टर दाहालको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको धनुषा प्रहरीले जनाएको छ ।

विस्फोटमा परी कोखामा छर्रा लागेर गम्भीर घाइते भएका इन्सपेक्टर दाहाललाई उपचारका क्रममा चिकित्सकले शनिबार विहान करिब ७ बजे मृतक घोषणा गरेका हुन् । साहको घरनजिकै शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो ।

सो क्रममा प्रहरीले भीडभाड हटाउँदै गर्दा विष्फोट भएको थियो । घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ । दहालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा विहान मृत्यु भएको जनाइएको छ ।

 

प्रतिक्रिया