सुरु भयो अन्तर्राष्ट्रिय लोकवार्ता

काठमाडौं । नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुक्रबारदेखि सुरु भएको छ । मंसिर २९ सम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बंगलादेश, भारत, बेलायत, श्रीलंका, स्पेन, रुस, नेपालसहित विभिन्न मुलुकका ९६ विज्ञले आ–आफ्ना मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदि ८६ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालसहित विभिन्न मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदि लोकसंस्कृतिको चिनारी तथा आदानप्रदान हुने अन्तर्राष्ट्रिय लोकवार्ता भेला आफैँमा दूरगामी महत्व रहेको बताउँदै यसबाट नेपालमा लोप हुने अवस्थामा रहेका लोकसंस्कृति तथा कलालाई उजागर गर्न सहयोगी हुने विचार व्यक्त गरे ।

विसं २०२७ मा कर्णालीको लोकसंस्कृतिका बारेमा आफूले नेतृत्व गरेको पाँच सदस्य टोलीले त्यहाँको मौलिक संस्कृतिलाई उजागर गरेको र त्यसलाई मदन पुरस्कार प्राप्त भएको उनले स्मरण गरे । जोशीले विदेशी प्रविधि भित्रिएसँगै नेपालमा रक्सी उत्पादन गर्ने, तेल पेल्नेजस्ता प्राचीन तथा मध्यकालीन प्रविधि हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई कमसेकम संग्रहालयमा राखेर यसको बारेमा जान्न चाहनेलाई सिक्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालको संस्कृति मन्त्रालयभित्र एउटा छुट्टै सांस्कृतिक महाशाखा गठन गरी देशको सांस्कृतिक वैभवलाई उठाउनुपर्छ, नेवार समुदायमा थुप्रै यस्ता सांस्कृतिक वैभव रहेको र कतिपय संस्कृति तथा प्रविधि लोप पनि भइसकेको छ ।’ बौद्ध धर्मगुरु स्याल्पा तेञ्जिङ रिन्पोछेले प्रकृति निर्मित लोकसंस्कृतिले मानिसलाई शान्तिपूर्वक बाँच्न सिकाउने चर्चा गर्दै विश्वभरिका लोकसंस्कृतिविद्को जमघट भएको उक्त भेलाले नेपालको लोकसंस्कृतिको विकास तथा उत्थानमा महत्वपूर्ण देन दिने बताए ।

उनले विश्व सम्पदा सूचीमा रहेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीको छुट्टै संस्कृति तथा इतिहास रहेको र विश्वभरका मानवजातिलाई शान्ति प्राप्ति तथा अनुसन्धानका लागि खुला पाठशाला भएको विचार व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशको मौलिक संस्कृति, कला, जातजातिको पहिचानको उत्थान तथा विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस्तो कार्यक्रमले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले काठमाडौं उपत्यकाको संस्कृति तथा कला विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य भएको उनको भनाइ छ । समाजका अध्यक्ष तुलसी दिवसले नेपालमा रहेका विभिन्न कला, संस्कृति, वेशभूषा तथा जातजातिको पहिचानलाई थप उचाइमा पु¥याउन सन् २००१ देखि सुरु भएको यस्ता भेलामा लोककथा, लोकगीत र लोकनृत्यको एक विशेष सत्र पनि रहेको बताए । लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा मुख्य विषय रहेको भए पनि लोकवार्ता तथा विकास, लैंगिकता, सिर्जनात्मक लेखन काव्य, सांस्कृतिक सम्पदाको अध्ययन, कला, लोकभाषा, अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत ज्ञानजस्ता १८ उपविषयमा सम्मेलनमा छलफल हुने कार्यक्रम रहेको समाजका महासचिव चूडामणि बन्धुले बताए ।

नेपालमा विभिन्न बोलीचालीका १२३ भाषा तथा सांस्कृतिक पहिचान झल्काउने इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ जात्रा एवं काष्ठमण्डप, स्वयम्भू, बौद्ध, लुम्बिनी, कृष्णमन्दिर जस्ता अनेकौँ सांस्कृतिक सम्पदाहरु अनुसन्धानकर्ता तथा अन्वेषणकर्ताका लागि ज्ञान अभिवृद्धिका क्षेत्र हुने भेलामा बताइएको छ । समाजले हालसम्म विभिन्न १० जातजातिको अध्ययन गरी पुस्तक प्रकाशित गरिसकेको र अन्य १२५ जातजातिको भाषाभाषी तथा संस्कृतिका बारेमा पुस्तक प्रकाशित गर्न सकेमा नेपालको संस्कृतिलाई थप उचाइमा पु¥याउन सकिने उक्त समाजले जनाएको छ । काठमाडौं महानगरपालिका, नेपाल प्रज्ञा–प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहकार्यमा जारी सम्मेलन तीन दिन चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया