इन्टरलक इँटा उद्योग सञ्चालनमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित जिल्ला प्रहरी कार्यालय अगाडि सञ्चालन गरिएको उक्त इँटा उद्योगबाट अहिलेसम्म १० हजार इँटा बिक्री भइसकेका जनाइएको छ । जिल्लामै पहिलोपटक सञ्चालन गरिएको उद्योगमा उत्पादित इँटाले बजारको माग धान्न हम्मे परेको छ । प्रतिगोटा ५७ रुपैयाँ पर्ने इन्टरलक इँटा बहुउपयोगी हुने भएकाले सबैले प्रयोग गर्न थालेका सञ्चालक बजिमयले बताए ।

‘जिल्लामा भूकम्पपछिको पुनःनिर्माणको काम धमाधम भइरहेको छ’, उनले भने, ‘पाँच कामदार लगाएर उत्पादन गरिए पनि बजारको माग धान्न गाह्रो भएको छ ।’ उद्योगमा काम गर्ने कामदारलाई प्रतिव्यक्ति १० देखि १२ हजार रुपैयाँसम्म तलब दिने गरिएको जनाइएको छ । दुई हाते यन्त्र जडान गरेर सुरु गरिएको उद्योग चार रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ ।

घर निर्माणमा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा प्लास्टर गर्नु नपर्ने, काठको आवश्यकता नपर्ने, ज्यामी ज्याला कम पर्ने तथा सिमेन्ट र बालुवा कम खपत हुने सञ्चालक बजिमयले बताए । ‘सामान्य इँटा प्रयोग गर्दा लाग्ने सिमेन्ट र बालुवाको मात्रामा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा चार भागको एक भाग मात्र लाग्छ’, उनले भने, ‘कम खर्चिलो र दिगो हुने भएकाले इन्टरलक ब्रिक अर्थात् भूकम्प प्रतिरोधात्मक इँटा सबैको रोजाइमा परेको छ ।’

अहिले हाते यन्त्र प्रयोग गरिँदै आएको उद्योगमा केही दिनभित्रै इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको सञ्चालक बजिमयले बताए । ‘हातले चलाइने यन्त्रबाट अहिले दैनिक ४ सय ५० गोटा इँटा उत्पादन हुने गरेका छन्’, उनले भने, ‘बजारको मागअनुसार उत्पादन दिन नसक्ने भएपछि बजारको मागलाई सम्बोधन गर्न इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको हो ।’

सिमेन्ट, बालुवा र चिप्स (सानो आकारको गिट्टी) प्रयोग गरिने भूकम्प प्रतिरोधात्मक इँटा मेसिनबाट झिकेर २४ घण्टासम्म सेटिङ गर्न र २० दिनसम्म क्युरिङ गर्न समय लाग्ने जनाइएको छ । उद्योगमा प्रयोग हुने कच्चापदार्थ (बालुवा र गिट्टी) स्थानीय साप्सुखोलाबाट ल्याउने गरिएको सञ्चालक बजिमयले बताए ।

०७२ वैशाख १२ को भूकम्प र पराकम्पनका कारण घरविहीन बनेका पीडितमध्ये पुनर्निर्माणतर्फका ८ हजार ४ सय ६२ र प्रवलीकरणतर्फका ३ सय ६१ परिवार गरी कूल ८ हजार ८ सय २३ लाभग्राही रहेका छन् । उनीहरूमध्ये अधिकांशले भूकम्प प्रतिरोधी घर निर्माण गर्न आवश्यक इँटाका लागि उक्त उद्योगमा सम्पर्क गरेका छन् ।

१० स्थानीय तह रहेको जिल्लामा यसअघि पुनर्निर्माणका लागि आवश्यक इँटा राजधानी काठमाडौं तथा तराईका जिल्लाबाट ल्याउने गरिएको थियो । जिल्लामा यसअघि सञ्चालन गरिएका सामान्य प्रविधि (माटो प्रयोग) गरेर उत्पादन गरिने इँटा गुणस्तरहीन भएको गुनासोपछि बन्द भएका थिए ।

प्रतिक्रिया