रोकियो जय बागेश्वरी पुनर्निर्माण

काठमाडौं । विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ क्षेत्रमा पर्ने जयबागेश्वरी मन्दिरको पुनर्निर्माण कार्य रोकिएको छ । सो मन्दिर पुनर्निर्माणका लागि भत्काउदा अर्काे मन्दिर फेला परेसँगै अनुसन्धान गरेर मात्र पुनर्निर्माण गर्न पुरातत्व विभागले आदेश दिएकाले काम रोकिएको हो ।

पुरातत्व विभागले पशुपति क्षेत्र विकास कोषलाई उक्त मन्दिरमा रहेको भित्तेचित्र निकाली संरक्षण गरेर मात्रै निर्माण कार्य अगाडि बढाउन भनेको छ । सो मन्दिर भत्काउदा अर्काे भित्री पर्खालसँगै तीन वटा मूर्तिसमेत फेला परेका थिए ।

त्यसलाई पुरातत्व विभागसहितको विज्ञ टोलीले सूक्ष्म अध्ययन गरिरहेका छन् । मन्दिरभित्र रहेको भित्तेचित्र विशेषज्ञ टोलीबाट निकालेर मात्रै काम अगाडि बढाउनुपर्ने भएकाले अहिले काम रोकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले जानकारी दिए ।

‘पुरातत्व विभागले मन्दिरभित्र रहेको ऐतिहासिक भित्तेचित्र निकालेर मात्रै काम अगाडि बढाउनु भनेर पत्रचार गरेपछि काम रोकिएको हो’ उनले भने ।

उक्त मन्दिर २०७२ सालको भूकम्पले क्षति पु¥याएको थियो । त्यसयता उक्त मन्दिरमा भक्तजनले राम्रोसगँ दर्शन गर्न पाएका थिएनन् । विकास कोषले मन्दिरको पुनर्निर्माणका लागि भत्काउँदै गर्दा तीनवटा गजुर भेटिएपछि निर्माणमा चुनौती थपिएको थियो । मन्दिर भत्काउँदै गर्दा गजुर भेटिएपछि काम रोकिएको थियो । सो मन्दिर पुनर्निर्माण गर्नका लागि चुना सुकिको प्रयोग गरि पुनर्निर्माण गर्ने तयारी भएको थियो ।

यता सरोकारवालाहरूले भने मन्दिरलाई मौलिक शैलीमा पुनर्निमार्ण गर्नु पर्ने माग गरेका छन् । सो मन्दिर भत्काउँदा इँटा र माटोले बनेको भेटिएकाले सोहीअनुसार निर्माण हुनपर्ने माग गरेका हुन् ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार प्राचिन, ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानै शैलीमा गर्नुपर्ने प्रावधान रहेको छ । सोही ऐनअनुसार पुरानै शैलीमा पुनर्निमार्ण गर्नुपर्ने पशुपतिका भण्डारी केदारमान भण्डारीले बताए । बाहिरी मन्दिर पनि इँटा र माटोले नै बनेको छ । पशुपति क्षेत्र विकास कोषले माटोको यो मौलिकता मासेर चुना सुर्की प्रयोग गरेर बनाउन लागेको भन्दै यसो गर्न नहुने बताउँदै आएका छन् ।

जयबागेश्वरी मन्दिरलाई लिच्छविकालीन मन्दिरको रूपमा चिनिन्छ । पुनर्निर्माणका लागि भत्काउँदा लिच्छविकालीन भएको प्रमाणहरू फेला परेका छन् । पशुपतिको मुख्य शक्तिपीठमध्ये जयबागेश्वरी पनि एक हो । मूर्त मात्रै नभई यहाँ थुप्रै अमूर्त सम्पदा पनि छन् । ‘पुनर्निर्माण गर्दा यी सबै अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ’ भण्डारी भन्छन्, ‘सम्पदा निर्माण भनेको भौतिक निर्माण मात्र होइन, यहाँका अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ ।’

मन्दिर बनाउने जिम्मा पाएको तुलसी कन्ट्रक्सनले नै मन्दिर भत्काउन सुरु गरेको थियो । ३ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बागेश्वरी मन्दिरमा सतिप्रथा हुँदा गहना चढाएर सति जाने चलन रहेको इतिहास पाइन्छ । त्यसकारण सो मन्दिरमा गहनासमेत हुन सक्ने अनुमान गरिएको छ ।

यसको निर्माण कलिगत सम्वत् ३२३२ देखि बनाउन सुरु गरेर ३२७३ मा सम्पन्न गरिएको देवमाला वंशावलीमा उल्लेख छ । लिच्छविकालीन मन्दिर १९९० सालको भुइँचालोमा भत्किएको थियो । त्यतिवेला पनि माटोबाटै बनाइएको थियो । त्यसअघि राजा प्रताप मल्लले १७०६ सालमा पनि यसको जीर्णोद्वार गरेका थिए ।

प्रतिक्रिया