कैलालीमा वर्षाका कारण महोत्सव स्थगित

कैलाली । वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो महोत्सव गएरातिबाट लगातार वर्षा हुन थालेपछि स्थगन गरिएको हो ।

चौधौँ संस्करणका रुपमा धनगढीको संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा यही मङ्सिर २२ देखि आगामी पुस २ गतेसम्म सञ्चालन भइरहेको महोत्सव आएको हावाहुरी र वर्षाका कारण सञ्चालन गर्न समस्या भएको हुँदा आज एक दिनका लागि महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

उनले शनिबारदेखि पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने बताए । संघले यस क्षेत्रको कृषि, उद्योग, संस्कृति, कलाका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आइरहेको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, अल्लोका सामान, अटोमोबायल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटललगायत गरी ३०० भन्दा बढी व्यापारिक कक्ष राखिएका छन् ।

नगद एक करोडभन्दा बढीको लगानीमा आयोजना गरिएको भनिएको महोत्सवको प्रवेश टिकट बिक्रीबाट संकलित रकमको दश प्रतिशत सामाजिक कार्य गर्न नेपाल रेडक्रस सोसाइटी धनगढी शाखालाई निरन्तर रुपमा सहयोग गर्ने गरेको जनाइएको छ । महोत्सव आयोजना समयदेखि नै यस क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरण र सांस्कृतिक संरक्षण तथा प्रवद्र्धनका लागि उल्लेखनीय भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया