सिटीको सानदार जित

एजेन्सी, पेरिस । ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि ४–१ को सानदार जित निकालेको छ । सिटीले जाग्रेबकै मैदानमा पुनरागमन गर्दै फराकिलो जित निकालेको हो ।

खेलको १०औँ मिनेटमा ड्यानिल ओल्मोको गोलबाट घरेलु टोलीले खेलमा सुरुआती अग्रता लिएको थियो । एक गोलले पछि परेपछि सिटीले घरेलु टोलीलाई दवावमा राख्दै ३४औँ मिनेटमा बराबरी गोल गर्न सफल भयो । ग्याब्रियल जेससले रियाद महारजेको पासमा बराबरी गोल फर्काउँदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा जेसस चम्किए । उनले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै ह्याटिक पुरा गरे । ५०औँ मिनेटमा फिल फोडेनको पासमा व्यक्तिगत दोस्रो गोल गरेका जेससले ५४औँ मिनेटमा बेन्जामिन मेन्डीको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

८४ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए । जितसँगै सिटीले समूह ‘सी’ बाट समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । सिटीले ६ खेलबाट १४ अंक जोडेको छ । यो समूहबाट इटालियन क्लब एटलान्टाले समूह उपविजेताको रूपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

एटलान्टाले साख्तर डोनेक्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेको थियो । एटलान्टाले ७ अंक जोड्यो । ६ अंक जोडेको साख्त र ५ अंक जोडेको डाइनामोले समूह चरण पार गर्न सकेनन् ।

प्रतिक्रिया