ए डिभिजनलाई कतार एयरवेजको प्रायोजन

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार एयरवेजसँगको सम्झौताबारे जानकारी दिएको हो । सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई एक लाख पचास हजार अमेरिकी डलर प्रदान गर्ने छ । चरणमा ९० हजार र दोस्रो चरणमा ६० हजार अमेरिकी डलर प्रदान गर्ने छ । यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो अंकित प्याच लगाउनुपर्ने, लिगको नामको अगाडि प्रायोजकको नाम राख्नुपर्ने लगायत अन्य प्रचार प्रसारको कार्यमा सहयोग गर्नुपर्ने उल्लेख छ ।

मंसिर २८ देखि सुरु हुने ए डिभिजन लिगमा कुल १४ क्लबको सहभागिता रहने छ । नियमअनुसार लिगको पुछारमा रहने एक टोली घटुवा हुने छ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फाले जनाएको छ । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०÷२० लाख प्रदान गर्ने छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौँले ७ लाख र छैटौँ स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५÷१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ । एन्फाले यसअघि रामसार मिडिया र एपीवन टेलिभिजनसँग गरिएको ३ वर्षे प्रसारण र मार्केटिङ सम्झौता आपसी समझदारीमा खारेज गरिएको जानकारी दिएको छ । यससँगै प्रसारण अधिकारबारे पनि नयाँ टेलिभिजनसँग छलफल जारी रहेको एन्फाले जनाएको छ ।

लिगको खेल हेर्न दर्शकले साधारण प्यारापिटतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यसपटक देखि दर्शकहरूको प्रवेशका निम्ति उत्तर गेटको मात्र प्रयोग गरिने एन्फाले जनाएको छ । लिगको उद्घाटन शनिबार दशरथ रंगशालामा हुँदैछ । उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब आमनेसामने हुँदैछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया