गोकर्णेश्वरमा साहित्य महोत्सवको आयोजना

काठमाडौं । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्ने भएको छ । नगर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

महोत्सवको बारमो जानकारी दिन मंगलबार नगरकार्यपालिकाको कार्यालयमा आयोजित साहित्यकारको भेलामा नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको जानकारी दिए । यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रू १० लाख बजेट विनियोजन गरेको छ ।

‘महोत्सवमा पर्यटकीयस्थल तारेभीर, शिवपुरी, वाग्द्वार, सुन्दरीजल, गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र, राष्ट्रिय सहिद स्मारक निर्माणस्थल क्षेत्रलगायत स्थानका बारेमा जानकारी दिई यहाँको प्राकृतिक एवं पुरातात्विक महत्व समेटेर साहित्य सिर्जना गर्न प्रेरित गरिनेछ’, उनले भने ।

महोत्सवबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको छ । महोत्सवमा प्रस्तुत गरी सर्वोत्कृष्ट पहिलो कवितालाई नगद एक लाख ५० हजार, दोस्रोलाई नगद एक लाख र तेस्रोलाई नगद ५० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

हास्यव्यंग्यकार भैरव अर्याल, आख्यानकार रमेश विकललगायत साहित्यकारको जन्म गोकर्णेश्वर क्षेत्रमै भएको थियो । हाल नगर क्षेत्रमा दुवैजना साहित्यकारको स्मृतिमा खुलेका साहित्यिक संस्था विभिन्न गतिविधिमा क्रियाशील छन् ।

यसैगरी, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठानलगायत साहित्यिक संस्थाले मासिकरूपमा नियमित साहित्यिक कार्यक्रम गरिरहेका छन् । आगामी पुस माघमै साहित्यिक महोत्सव गर्ने प्रस्ताव नगरपालिकाले राखेको साहित्यकार एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए । सो भेलामा १५० भन्दा बढी साहित्यकार, लेखक एवं पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया