वौद्धिक अपांग विद्यार्थीलाई कपडा वितरण

अर्घाखाँची । मानसिक र शारीरिक रूपमा फरक क्षमता भएका सन्धिखर्क नगरपालिका–१ मा रहेको निर्मल नवज्योती सुस्त मनःस्थिती विद्यालयका १८ जना विधार्थीलाई कल्याणी सेवा नेपाल अर्घाखाँचीले चिसोमा लगाउने न्यानो स्विटर लगायतका कपडाहरू वितरण गरेको संस्थाका अध्यक्ष सुशीला बन्जाडेले बताइन् ।

०४८ सालमा स्थापना भएको विद्यालयमा सुरुदेखि नै आवासीय रूपमा बौद्धिक अपांग बालबालिकालाई अध्ययन हुँदै आएको छ । गरिब असहाय र विपन्न आर्थिक रूपमा निकै कमजोर परिवारका विद्यार्थीलाई नियिमित अध्ययन, सरसफाई र खानपान गराउनका लागि तीन जना कर्मचारीले काम गरिरेका छन् ।

सन्धिखर्क नगरपालिका–१० स्थायी घर भई हाल सोही विद्यालयमा अध्ययन गरिरहेका अशोक पराजुलीले न्यानो नयाँ स्विटर पाउँदा निकै खुसी लागेको बताए । गहभरी आँसु लिँदै पराजुलीले भने, ‘घरमा आमाले जस्तै गरी हामीलाई मेडमहरूले पढाउनुभएको छ, हाम्रो भविष्य कस्तो हुन्छ थाहा छैन चिन्ता लागिरहन्छ के गर्ने जिन्दगीमा केही त गरिन्छ कि भन्ने हिम्मत आउँदै छ ।’

जसले जन्मायो उसैका मात्र होइनन् सन्तान हामी सबैका सन्तान हुन् भन्ने भावनाका साथ समाजका सबै दुुःखी गरिब असहाय र फरक क्षमता भएका बालबालिकाहरूको सहयोगका लागि सबै एक भएर लाग्नुपर्ने विद्यालयकी प्रधानाध्यापक कमला भुसालले बताइन् । भुसालले भनिन्, ‘यो भन्दा ठूलो धर्म केही छैन, धेरैले धेरै प्रकारको सहयोग गर्नुभएको छ सबै सहयोगीप्रति मनैदेखि धन्यवाद ।’

कल्याणी समाज नेपालले नाम जस्तै काम पनि गरिरहेको छ । दुःखी गरिबलाई खाद्यान्न वितरण गर्ने, कपडा वितरण गर्ने आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीलाई आर्थिक संकलन गरी वितरण गर्नेजस्ता सामाजिक रूपमा महत्वपूर्ण काम गर्दे आएका संस्थाका सचिव पवित्रा भट्टराईले बताइन् ।

जिल्ला सदरमुकाममा रहेका महिलाहरूले संस्था ऐन २०३४ अनुसार गैरसरकारी संस्थाको रूपमा कल्याणी नामक संस्था दर्ता गरी विभिन्न परोपकारी काम गर्दै आएको र आगामी दिनमा अझ राम्रो र प्रभावकारी काम गर्ने संस्थाका सहसचिव कमला भण्डारीले बताइन् ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया