तोडफोड गर्नेलाई जोगाउँदै प्रहरी !

वीरगञ्ज । राष्ट्रिय गौरवको आयोजनामा हुलाकी राजगमार्गअन्तर्गत वीरगञ्ज–ठोरीखण्डमा निर्माण सामग्री ओसार्ने टिपर तोडफोड गर्नेलाई कारवाही गर्नमा प्रहरी उदासीन देखिएको छ । स्थानीय राजनीतिक दबाबमा प्रहरीले तोडफोडमा संलग्लाई उन्मुक्ति दिने प्रपञ्च मिलाएर विकास विरोधी काम गरिरहेको आरोप हुलाकी मार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीले लगाएका छन् ।

निर्माण सामग्री ओसार्दा धुलो उडेको भन्दै स्थानीय केही व्यक्तिले सोमबार राती महुवन बजार नजिकै गुलवरियामा दुई ओटा टिपर तोडफोड गरी चालकलाई समेत कुटपिट गरेका हुन् । ना ७ ख ८७१६ र ८७१८ नम्बरको टिपरमा ढुंगा प्रहार गरी तोडफोड भएको हो । तोडफोडको क्रममा टिपरको सीसा फुटेको प्रहरीले बताएको छ ।

संलग्नलाई पक्राउ गरी कारवाही र सुरक्षाको माग गर्दै निर्माण व्यवसायीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिइएको छ । सखुवाप्रसौनी–२ का मुन्ना माझी र सहदेव साहले टिपर तोडफोड गरेको किटानी जाहेरी परे पनि स्थानीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन । उल्टै उनीहरूले टिपर तोडफोड हुनबाट बचाउने प्रयास गरेको दाबी स्थानीय प्रहरीले गर्दै आएको छ ।

प्रहरी घटनास्थलमा पुगे पनि कसैलाई नियन्त्रणमा लिएको छैन । पर्साको पटेरवा सुगौली र सखुवा प्रसौनीमा पर्ने जमुनिया र गादी खोलाबाट संकलन गरी भण्डार गरिएको ग्राभेल ओसार्ने कार्यमा स्थानीयले अवरोध गर्दै आएका छन् । दिउँसो ओसार्दा धुलो उडेको भन्दै अवरोध भएपछि रातिको समयमा ओसार्ने सहमतिअनुसार निर्माण व्यवसायीले काम गरिरहेकोमा राति १० बजेको समयमा टिपर तोडफोड गरिएको हो ।

प्रहरीले सार्वजनिक सरोकारको राजमार्ग निर्माणमा अवरोध पु¥याउनेलाई पक्राउ गरी कारवाही गर्नुको साटो मिलापत्र गराउने प्रयास गरिरहेको बुझिएको छ । स्रोतका अनुसार सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालको दबाबमा प्रहरीले संलग्नलाई जोगाएर विकास निर्माणलाई अवरोध पु¥याउने भूमिका खेलेको हो ।

ढुंगाबाुलवाको ठेकेदारसँग अध्यक्ष जयसवालको स्वार्थको टकरावका कारण हुलाकी सडक निर्माणमा अवरोध भइरहेको विश्वस्त स्रोतको दाबी छ । उनले स्थानीयलाई उचालेर अवरोध पु¥याइरहेका छन् । तोडफोडको घटनापछि निर्माण व्यवसायी सुरुमै महुवन चौकीमा सुरक्षा माग गर्न जाँदा प्रहरीले अध्यक्ष जयसवालसँग ‘कुरा मिलाउन जानू’ भन्दै उजुरी लिन नमानेको बताइएको छ ।

प्रतिक्रिया