चासोक तङ्नाम मनाउँदै लिम्बू समुदाय

पाँचथर । जिल्लामा किरात वंश भित्रको लिम्बू समुदायको महान् सांस्कृतिक पर्व चासोक तङ्नाम बुधबारदेखि भव्यरूपमा सुरु भएको छ । पर्वको पहिलो दिन बिहानै सार्वजनिक स्थलहरू धारो, पँधेरो, पाटीपौवा, बाटोघाटो र माङ्हिम (मन्दिर) सफाई गरिएको छ । साँझ भने घरघरमा दीपावली गरिन्छ । पर्वको दोस्रो दिन भने वर्षको नयाँ बाली इष्टदेवी (तागेरा निङ्वाफुमाङ) लाई चढाइने गरिन्छ ।

फेदाङमाद्वारा सो दिन बिहानै धान, कोदो, मकै लगायतका बाली इष्टदेवीलाई चढाइने पनि गरिन्छ । इष्टदेवीबाट बल, बुद्धि, विकेक र आयु पनि माग्ने चलन आइरहेको छ । चासोक तङ्नामका बारे कार्यविधिका लेखकसमेत रहेका भाषाविज्ञ हरिचन्द्र लावतीले बताएका छन् । यसरी वर्षको नयाँ बाली चढाएपछि उपभोग गर्दा रोगव्याधी नलाग्ने र अनिष्ठ नहुने जनविश्वास लिम्बू समुदायमा रही आएको छ ।

किरात मुन्धुममा इष्टदेवीको अर्को रूप सिबेरा याक्थुङ्माले मानव जातिको लागि अन्नको बिउ प्रदान गरेको र प्राकृतिक कृषि औजारको प्रयोग गरी खोरिया फाँडेर खेतिपाती गर्दै कृषि उपजको उत्पादन थालेको उल्लेख छ । मुन्धुमअनुसार सिबेरालाई कृषि युगको प्रारम्भकर्ताको रूपमा लिइन्छ । उनकै सम्मान र सम्झनामा चासोक तङ्नाम मनाइने गरिएको लावतीले बताए । चासोक तङ्नामलाई कतिपयले न्वागी पर्व पनि भन्ने गरेका छन् ।

यो पर्व तीन दिनसम्म मनाइन्छ । चासोकको अन्तिम दिन भने शारीरिक र मानसिक स्फुर्ती हुने खालका खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै बिदाई गर्ने चलन छ । यसरी किरात वंशभित्रको लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदा राई समुदायले साकेला, याख्खा समुदायले चासुवा र सुनुवार समुदायले फोलसादर पर्व मनाउने गर्दछन् ।

यता आर्यान समुदायले पनि यही पर्वमा गोठपूजा गरी मनाउँछन् । यसै अवसरमा फिदिमनगरपालिका–४ गढीमा चासोक मेलाकोसमेत आयोजना गरीएको छ । चासोक पर्वमा गढीमन्दिरमा पूजापाठ गरिँदै आएको पाइन्छ । त्यस्तै मेलाको अवसरमा आयोजकद्वारा युवा म्याराथुन प्रतियोगितासमेत गरिएको थियो ।

प्रतिक्रिया