मुख्यमन्त्री पौडेलद्वारा गौतम बुद्ध क्रिकेट रङ्गशाला अवलोकन

भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अवलोकन गरेका छन् ।

सो रङ्गशाला अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको बताए । प्रदेश सरकारले रङ्गशाला निर्माणको लागि विनियोजन गरेको रु पाँच करोड भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिए । रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको उनले बताए ।

‘रङ्गशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस्, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौँ’, मुख्यमन्त्री पौडेलले भने । उनले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उनले त्यसको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाए ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले रङ्गशाला निर्माणमा भइरहेको कामको प्रगतिबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । उनले प्रदेश सरकारबाट विनियोजन भएको बजेट सहज रुपमा रङ्गशाला निर्माणका लागि खर्च गर्ने वातावरण मिलाइदिन आग्रह गरे । रङ्गशाला निर्माणले तीव्रता लिएको भन्दै उनले बजेटको भने अभाव रहेको बताए । फाउण्डेशनले शिलान्यास भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रङ्गशाला निर्माण अघि बढाएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया