पीपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेल मंसिर २८ मा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने छ ।

मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालमा हुने पीपीएलमा कुल १७ खेल हुने छन् । लिग चरण पछि शीर्ष टोली स्वतः फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नु पर्ने समिकरण छ । पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन् । गत वर्ष फाइनलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।

पीपीएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली छन् । विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजबीच पीपीएलमा प्रतिस्पर्धा हुने छ । गत वर्ष हुलास लोयल्स काठमाडौं थियो । उसको स्थानमा काठमाडौं गोल्डेन्स आएको हो ।

दिनमा एउटा मात्रै खेल भएको दिन खेल ११ः३० देखि सुरु हुनेछ । दुई खेल भएको दिन विहान ९ र दिउँसो १२ : ४५ देखी खेल सुचारु हुने छ । पीपीएलमा ४ दिन मात्र दिनमा दुई वटा खेल हुने छ । टोलीका कप्तानमा विराटनगरबाट प्रदीप ऐरी, धनगढीमा दीपेन्द्र सिंह ऐरी, चितवनमा पारस खड्का, बुटवलमा सोमपाल कामी, पोखरामा शरद भेषावकर र काठमाडौंमा ज्ञानेन्द्र मल्लले कप्तानी गर्नेछन् ।

प्रतिक्रिया